इटहरीः इटहरी उपमहानगरपलिका वडा नम्बर ३ को तालतलैयामा रहेको अस्थायी प्रहरी चौकीको नयाँ भवन निर्माण भएको छ । इटहरीमा हुने अपराधिक क्रियाकलापको दृष्टिकोणले तालतलैयालाई ‘इपि सेन्टर’को रुपमा हेर्ने गरिन्छ । पहिला रहेको भवन सार्ने तयारीका बेला दाताहरुले जग्गा दान गरेपछि चौकीको आफ्नै नयाँ भवन बनेको हो । भवनमा महिला पुरुष कैदिबन्दीलाई राख्न २ वटा छुट्टाछुट्टै कोठा तयार परिएको छ ।
इटहरीको ३ नम्बर वडा द्धन्द काल देखि नै असुरक्षित रहेको र शान्ति सुरक्षा स्थापना गर्न अस्थायी प्रहरी चौकी ल्यायीएको इटहरी उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा प्रहरी चौकी व्यावस्थापन समितिका अध्यक्ष बालकृष्ण विष्टले जानकारी दिए । ‘यो क्षेत्र द्धन्दकालदेखि नै असुरक्षित छ । यहाँ अपराधिक क्रियाकलाप गर्ने मात्र होइन् अपराध गरेर लुक्न आउने थालोको रुपमा पनि चिनिएको छ । मोरङ, सुनसरी र झापाबाट अपराध गरेर लुक्नको लागि पनि याहाँ आउने गरेको हामीले पाएका छौँ’, उनले भने । अपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय मिलेर तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजय कुमार गच्छादारलाई भनेर अस्थायी चौकी निर्माण गरिएको विष्टले बताए ।
यस्तै अस्थायी प्रहरी चौकी तालतलैयाका प्रहरी प्रमुख सहायक प्रहरी निरिक्षक देविरमण तिम्सीनाले नजिकै पर्यटकीय स्थल तालतलैयासँगै घना जंगल रहेकाले अरुको तुलनामा यहाँ थप सुरक्षा सतर्कता अपनाउनु आवश्यक रहेको बताए । साथे याहाँ आएपछि उनले विभिन्न अपराधिका गतिविधि हुनु भन्दा अगाडिनै नियान्त्रणमा लिएको पनि बताए । ‘यो वडासँग मोरङको सिमा जोडिएको छ साथै धरानसँग पनि सिमा जोडिएकाले अरुको तुलनामा सुरक्षा व्यवस्था थप कडा पार्नुपर्ने हामीले ठानेका छौँ र पारेका पनि छौँ’, उने भने । साथै उनले दाताहरुको सहयोगमा चौकीको लागि नयाँ भवन बनेसँगै प्रहरीको सुरक्षा सेवामा पनि वृद्धि गरिने जानकारी दिए ।
जग्गादाता चिन्तामणि खतिवडाले अस्थायी प्रहरी चौकी पुरानो ठाउँबाट सर्ने जानकारी पाएपछि बुबाको नाममा जग्गादान गरेको बताए । ‘हामीले अस्थायी चौकी सर्दै छ अरे र जग्गाको खोजि हुँदैछ भनेर जानकारी पायौँ । बुबाले धेरै दुख गरेर हाम्रो लागि जग्गा जोडिदिनु भयो । हामी ६ दाजुभाई बुबाको नाममा २५ धुर जग्गा तालतलैया चौकीको नाममा पास गदियौँ’, उनले भने । साथै उनले जग्गासँगै आइपरेका विभिन्न ठाउँमा पनि चौकीलाई सहयोग गरेको र चौकीले निश्पक्ष रुपमा अपराधको छानविन गरोस् भन्ने सबैको अपेक्षा रहेको बताए ।