इटहरी : अनलाइन मार्फत जुवा वा सट्टेबाजी खेल खेलाउने तिन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विराटनगरबाट पक्राउ गरेको छ । क्रिकेटको चर्चित टी–२० श्रृखंला इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा हुने जितहारको विषयलाई अनलाइन मार्फत कबोल गराई सट्टेबाज खेल खेलाउने तीन जना पक्राउ परेका छन । विराटनगर महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३८ को मुन्ना भन्ने सत्यजित साहलाई घरमा निजले आफ्नो मोबाईल फोन मार्फत आईपीएल खेल हार्ने वा जित्ने भनी अनलाईन मार्फत सट्टावाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी अनुसन्धान गर्दा अरु पनि पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानवबहादर राईले जानकारी दिएका छन । राईले भने,“उनीहरुविरुद्ध जुवा वा सट्टेबाजी खेल मुद्दा अन्तर्गत थप अनुसन्धान भई रहेको छ ।”

साहसंगै पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १७ रानी बस्ने बर्ष ४२ को जगदिश साह र सोही ठाउँको वर्ष ३८ को बैजनाथ साह रहेका छन । प्रहरीले सत्यजित साहको साथबाट निलो रंङको सामसुङ कम्पनीको मोबाईल, नेपाली दरका विभिन्न रुपैयाँ रु. ६० हजार र एकथान ल्यापटप बरामद गरेको छ ।

जगदिश साहको साथबाट सामसुङ कम्पनीको मोबाईल र आर१५ मोटरसाइकल तथा बैजनाथ साहको साथबाट पनि मोबाइल बरामद भएको प्रहरीको भनाइ छ । दुबईमा जारी आईपीएल खेलमा क्लबहरुको जितहारको विषयमा रकम बोलकबोल गरी सट्टेबाजी गर्ने गरिएको डिसपी राईले बताए ।