इटहरीः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपालतर्फका बोर्डर आउट पोस्ट (बीओपी) मा ढुंगा हान्न थालेपछि नेपाल–भारत सीमामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाएकोे छ ।

चैत ११ गते लकडाउन भएयता नेपाल आउने भारतीय नागरिक तथा एसएसबीले सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा ११ पटक आक्रमण गरिसकेका छन् । आक्रमण हुन थालेपछि सशस्त्रले सीमा क्षेत्रमा सुरक्षा उपस्थिति कडा पारेको छ । सशस्त्र प्रहरीका डिआइजी एवम् प्रवक्ता राजु अर्यालका अनुसार सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको १६३ वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सरकारको ५०० वटा बीओपी स्थापना गर्ने योजना रहेको उनको भनाइ छ ।

सरकाले भारतीय एसएसबी रहेका सीमा क्षेत्रको नेपाल तर्फ सशस्त्रको बीओपी राख्न निर्णय धेरै अघि गरिसकेको छ। चीनले सीमा मिचेर भवन बनाएको भनिएको हुम्लाको नाम्खामा बीओपी स्थापना हुने भएको छ । अर्यालका अनुसार लाप्चा लेकमा अब छिटै बीओपी स्थापना हुनेछ । सशस्त्र प्रहरीको टोलीले सीमाको स्थलगत अवलोकन गरेर १२ नम्बर सीमा स्तम्भभन्दा २५ किलोमिटर नेपालतर्फको टाक्ची भ्यालीमा बीओपी स्थापना गर्ने तयारी छ ।

चीनसँगै सीमा जोडिएको हुम्लाकै हिल्सा नाकामा भने गत असार ६ गते सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा २२ जना सुरक्षाकर्मी तैनाथ छन् । नवलपरासीको सुस्तामा पनि नेपालको सबैभन्दा धेरै सीमा मिचिएको छ। सुस्तालाई घेरेर भारतले सेनाको सातवटा क्याम्प राखेको सुस्ता गाउँपलिकाका प्रमुख रामप्रसाद पाण्डेयले बताए । उनका अनुसार भारतीय क्याम्पहरू भारततर्फ छैनन्, नेपालकै दशगजा भन्दा ७ किलो मिटर नेपालतर्फ नै भारतीय सीमा सुरक्षा बलको क्याम्पहरू छन । सुस्ताबासीलाई २०३१ सालमा नेपाल सरकारले लालपुर्जा वितरण गरेको २५६ बिघा जग्गा भारतीय अतिक्रमणमा परेको छ ।