इटहरीः झापाका सीमावर्ति क्षेत्रहरुमा सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट स्थापनाको कार्यले गति लिएको छ । एक वर्षको अवधिमा प्रदेशभर एक सय २२ पोष्ट स्थापनाको लक्ष्यसहित सरकारले कामलाई तिव्रता दिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, प्रदेश–१ बराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालका अनुसार झापामा यस वर्ष नौ ओटा बीओपी स्थापनाको कार्य सम्पन्न गर्ने योजना रहेको छ । जिल्लाको पूर्वाेत्तर क्षेत्र मेचीनगर–१ तिरिङदेखि पश्चिम दक्षिण भारतीय सिमावर्ति क्षेत्र गौरीगञ्ज गाउँपालिका–२ आँपगाच्छीसम्मको एक सय ४४ दशमलव २ किलोमिटर क्षेत्रफलमा नौ वटा बिओपी स्थापना हुने उनको भनाइ छ ।

चार स्थानको बीओपी निर्माणको ठेक्का प्रक्रियासमेत सुरु भइसकेको उनले जानकारी दिए । यस वर्ष झापामा प्रदेशकै सर्वाधिक नौ स्थानमा बीओपी स्थापना हुने नायबमहानिरीक्षक दाहालले उल्लेख गरे । उनका अनुसार झापाका कचनकवल गाउँपालिका–५ पाठामारी, भद्रपुर नगरपालिका–५ भन्सार कार्यालय, झापा गाउँपालिका–५ पन्थापाडा, मेचीनगर–१ तिरिङ, गौरीगञ्ज गाउँपालिका–२ आँपगाछी, भद्रपुर नगरपालिका–३ महेशपुर, मेचीनगर–५ नकलबन्धा, मेचीनगर–१५ ज्यामिरगढीलगायतका स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट निर्माण हुन लागेका हुन् ।