इटहरीः मोरङको रानी भन्सारअन्तर्गत दरैया नाकाबाट हरियो मटरको अवैध भारत निकासीमा तस्करलाई सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले दुई जना प्रहरीलाई निलम्बन गरेको छ ।

matar

 

कार्यालयले हवल्दार केशव कार्की र सिपाही अनिश खानलाई गत असार २५ गते निलम्बन गरेको हो । उनीहरुले गत असार १४ गते मटर तस्कर रवि भनिने जगदीश साह र नरेश साहलाई तस्करीमा सहयोग गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले जानकारी दिए । उनका अनुसार दरैया पोष्टमा परिचालित प्रहरी जवान तेजनारायण श्रेष्ठको आग्रह अनुसार इप्रका रानीको सञ्चार शाखामा परिचालित जवान निश्चल मगरले हवल्दार कार्कीलाई मदत मागिएको जानकारी गराएकोमा सिपाही अनिश खानले कुरा मिलिसकेको गलत जानकारी दिएर हवल्दार कार्कीलाई थप मदतका लागि प्रहरी पठाउनबाट रोकेका थिए ।

प्रदेश १ प्रहरी कार्यालयको गस्ति टोलीले मटर तस्करहरुसहित मटरको ट्र्याक्टर नियन्त्रणमा लिएपछि तस्करको बयानका आधारमा प्रहरीको संलग्नताबारे खुलासा भएको हो । प्रहरी पोष्टकै अगाडीबाट संस्थागत तस्करी गराउन प्रहरीकै संलग्नता खुलेपछि प्रदेश १ प्रहरी कार्यालयबाट प्राप्त पत्र अनुसार जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले कार्की र खानलाई निलम्बन गरेका हुन् । सोधपुछका क्रममा उपरीक्षक खड्काले दुवै आरोपी प्रहरीलाई थप्पडसमेत प्रहार गरेको स्रोतले बताएको छ ।

निलम्बित दुवै जनाले ्अवैध रकम असुलीका लागि उपरीक्षक खड्काको नामसमेत दुरुपयोग गरेको प्रहरीको आरोप छ । जिल्ला प्रहरी कार्यालयले ६ महिनासम्म निलम्बनमा राख्न सक्ने व्यवस्था रहेकोमा तीन महिनायता ती दुई प्रहरीलाई कार्यालयले निलम्बनमा राखेको छ । पछिल्लो समय प्रहरीका उच्च अधिकारीहरुको मिलोमतोमा तस्करी हुने गरेको आरोप लाग्ने गरेकोमा प्रहरीको यो कदमलाई महत्वपूणर््ा मानिएको छ ।