इटहरीः मोरङको विराटनगरस्थित मोरङ जिल्ला अदालतले व्यापारीलाई धम्की दिएर रकम असुली गरेको आरोप लागेका ६ जना अभियुक्तलाई हिजो बिहीबार पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

कारागार चलान हुनेहरुमा गिरोहका मुख्य नाईके मोरङ कटहरी गाउँपालिका २ का २६ वर्षीय अभिषेक राय, २६ वर्षीय नन्दु भन्ने चन्दकिशोर साह, भारत सितामडी ग्राम पञ्चायत घर भइ विराटनगर ८ मा बस्दै आएका २७ वर्षीय राजु साह, कटहरी २ का २७ वर्षीय एलेक्स भन्ने रबिन शर्मा, विराटनगर १२ का २६ वर्षीय विकास महतो रहेको मोरङ जिल्ला अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए । उनका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरुविरुद्धडाँका, हातहतियार खरखजना, अपराधिक लाभको उद्योग र अपराधिक लाभ लिएको कसुरमा अभियोजन गरेको थियो । 

pakrau

विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिँदै लाखौं रुपैयाँ असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायको समूह तथा उनलाई हतियार बिक्री गर्ने विद्यार्थी नेता अभिषेक महतोसहित ६ जना अभियुक्तहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । पक्राउ परेका अन्य पाँच जना प्रतिवादीहरूलाई अदालतले अपराधिक लाभ लिन खोजेको उद्योगमा जनही २५÷२५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले यस्तो आदेश गरेको हो । पक्राउ परेकामध्ये महतोमाथि भारतबाट पेस्तोल ल्याई एक लाख रुपैयाँमा गिरोहलाई उपलब्ध गराएको आरोप छ । उनी अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पुसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् ।