आषिका लम्साल
विराटनगरः बन्दाबन्दिको समयमा महिलाहरुमाथि भैरहेका हत्या हिँसाका घटना नियन्त्रण गर्न र अपराध ढाकछोप गर्ने दोषीहरुलाई समेत कानुनी कार्वाही गर्न अधिकारकर्मीहरुले प्रदेश १ सरकारको ध्यान आर्कषण गराएका छन ।
विश्व अहिँसा दिवसको दिन शुक्रवार महिलाहरु माथि भैरहेको हत्या हिँसा विरुद्ध ‘मौनता तोडौ’ राष्ट्रिय अभियानको पहिलो दिन महिला पुर्नस्थापना केन्द्र आरेको अगुवाईमा अधिकारकर्मीहरुले धर्ना सहित प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाउदै ध्यान आर्कषण गराएका हुन ।
विराटनगर स्थित प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अगाडी अधिकारकर्मीहरुले महिला हत्या हिँसा विरुद्ध ‘मौनता तोडौ’ भन्ने व्यानर र प्लेकार्ड बोकेर शुक्रबार विहान ११ देखी १२ बजेसम्म एक घण्टा धर्ना दिएका थिए । त्यसपछि उनीहरुले महिलाहरु माथि भैरहेको हत्या हिँसा विरुद्ध कार्वाहीको माग गर्दै मन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाएका थिए ।
कोरोना संक्रमण कालमा महिलाहरुमाथि निरन्तर हत्या र बलात्कारका घटना बढेको भन्दै विश्व अहिँसा दिवस २ अक्टोबरदेखी विश्वमानव अधिकार दिवस १० डिसेम्बर सम्म ‘मौनता तोडौ’ मुल नारा सहित ओरेकको अगुवाईमा राष्ट्रिय अभियान सुरु भएको हो ।
ओरेकले जानकारी गराए अनुसार बन्दाबन्दिपछि ४७ जना महिलाको हत्या भएको छ । १२ सय २१ जना महिला बलात्कारमा परेका छन । घटेका ३सय १९ बलात्कारका घटनाहरु मध्ये ७५ प्रतिशत १८ बर्ष मुनिका बालिकाहरु छन ।
बलात्कारमा परेका बालिकाहरु सम्झना विक, संगीता मण्डल, कञ्चन पञ्जियार, आकृति राई, निर्मला पन्त लगायत पुर्णिमा मोक्तान, सर्मिला दनुवार सहित धेरै महिलाहरुले ज्यान गुमाएका छन ।
तर जघन्य अपराध गर्नेहरु विरुद्ध अझै कायमै रहेको मौनताको संस्कृतीले पीडकलाई नै पक्षपोषण गर्ने र अपराध ढाकछोप गराउन अगुवाहरु लागिपर्ने प्रबृत्ती कायमै रहेकोले महिला हत्या हिँसा विरुद्ध अवाज उठाउन मौनता तोडौ राष्ट्रिय अभियान आवश्यक परेको अधिकारकर्मीहरुको भनाई छ ।