इटहरीः आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा झापामा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको गौरादह–१ का ६४ वर्षीय भीमबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायबउपरीक्षक राकेश थापाले बताए । उनका अनुसार भण्डारीले आफ्नै ६५ वर्षीया श्रीमति मनमायाको हत्या गरेको निष्कर्षसहित प्रहरी उनलाई गत बिहीबार पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको थापाको भनाइ छ । प्रहरीले अभियुक्तले आफू घरबाट १ बजे निस्किएको बताएकोमा सोही समयमा हत्या भएको पोष्टमार्टम रिपोर्टलाई आधार मानी उनलाई गिरफ्तार गरेको हो ।
यसैगरी, घटनामा पीडितका श्रीमान् नै संलग्न भएको भन्ने छिमेकीको बयान र घरमा कुनै चोरी नभएको तथा ६ महिनासम्म कमल गाउँपालिकाको ढ्यांग्रीस्थित घरमा रहेका दम्पतिको कसैसँग कुनै दुश्मनीसमेत नभएको तथ्यलाई गिरफ्तारीको आधार मानेको छ । यद्यपी, पक्राउ परेका अभियुक्तले भने हालसम्म कसुर स्वीकार गरेका छैनन् । गत सोमबार मनमायाको शव हात बाँधेर खाटमुनि लुकाइएको अवस्थामा आफ्नै घरमा फेला परेको थियो ।