इटहरीः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको जिम्मेवारी बाँडफाँड हुँदा विराटनगर महानगरपालिकामा भने आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व पाएका छन् ।
राष्ट्रिय युवा संघले बिहीबार केन्द्रीय निकाय, विभाग र आयोगहरूको बाँडफाँड, जिल्ला, महानगर र उपमहानगरको नेतृत्वबारे निर्णय गरेको थियो । विराटनगर महानगरपालिकामा आजम परवेज मियाँलाई संयोजक तोकिएको छ । उनी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत र उच्च अदालतले ६ महिना जेल सजाय तोकिएका अभियुक्त हुन् । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै बखत युवा संघले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएको हो । मियाँले सर्वोच्च अदालतमा पुनरावेदन गरिरहेकाले पक्राउ गर्न नमिल्ने ‘छुट पूर्जी’ बोकिरहेका छन् । मोरङ प्रहरीले एक पटक केही समयअघि पक्राउ गरे पनि पुनरावेदनको छुट पूर्जीका कारण छोडेको पीडितले बताएका छन् । उनीमाथि विराटनगर–९ का मोहम्मद जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनमाथि २०६९ साल भदौ ३ गते ज्यान मार्ने कसुर गरेको अभियोग छ । पीडितहरू एकाघरका दाजुभाइ हुन् ।
पीडितका बुवा सलिम हुसैनका अनुसार तरबार प्रहार गरी तीनै छोरालाई परवेजले सख्त घाइते बनाएका थिए । उनलाई यो मुद्दा ९ वर्षसम्म चलिरहँदा प्रहरीले पक्राउ गरेन । ‘अहिले सर्वोच्चको छुटपूर्जी बोकेर कानुनी राज्यलाई चुनौती दिइरहेका छन्, खै हामीलाई त कहिल्यै न्याय भएन,’ हुसैनले भने । परवेजमाथि यो सँगै अन्य तीन वटा मुद्दा पनि थिए । हजमिरी हुसैनलाई ज्यान मार्ने उद्योग गरेको अभियोग उनीमाथि छ । यस्तै, २०६८ भदौमा उनले विराटनगरका खमानसिंह बोहरालाई अपहरण तथा शरीर बन्धक बनाएर १० लाख रुपैयाँ असुल्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाएका थिए। उनी सुरूमा कांग्रेसनिकट रहेर विराटनगरमा आपराधिक गतिविधि गर्थे। पछि माओवादीमा गएका थिए । यस्तै, महानगरपालिकाको सहसंयोजकमा किरण लामालाई जिम्मेवारी दिइएको छ।
उनलाई पनि मनसायजन्य सवारी दुर्घटना गरेको कसुरमा प्रहरीले एक वर्षअघि पक्राउ गरेको थियो । उनी सवार सवारीले विराटनगर(४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्रको मृत्यु भएको थियो । उनी केही समय जेल परेर छुटेका थिए । लामा सवार बा२०च ७४० नम्बरको गाडीले को३प ५६३४ ठक्कर दिँदा मिश्रको घटनास्थलमै मृत्यु भएको थियो । एयरपोर्टमोडको एक होटलमा मदिरा सेवन गरेर गाडी चलाई आएका लामा सवारी दुर्घटना गराएर केही समय फरार भएका थिए । जानीजानी दुर्घटना गराएर उनले ज्यान लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि पत्रकार प्रह्लाद गुरागाईंलाई कुटपिट गरेको अभियोगमा पनि उनी पक्राउ परेका थिए । केही सार्वजनिक अपराध अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङबाट उनी धरौटीमा छुटेका थिए ।
यस्तै, युवा संघको विराटनगर महानगरपालिका इञ्चार्जमा रोहित कोइरालालाई जिम्मेवारी दिइएको छ । उनी पनि निर्विवाद छविका हैनन् । उनी पनि अपहरण तथा ज्यान मार्ने उद्योग मुद्दा खेपेका व्यक्ति हुन् । २०६८ सालमा ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना जेल परेर उनी छुटेका थिए । परवेज पूर्वमाओवादी, लामा र कोइराला पूर्वएमालेबाट नेतृत्व भागवण्डामा आएका हुन् । पार्टी एकता भएपछि नेकपाको भ्रातृ संगठनमा जिम्मेवारी तोकिएको थिएन। नेकपाको महाधिवेशनअघि राष्ट्रिय युवा संघको महाधिवेशन हुने छ । सो अवधिसम्मका लागि नेतृत्व चयन भएको युवा संघले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले आफूहरूलाई सोधीखोजी नगरीकन पार्टीका महत्वपूर्ण पदमा विवादित र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई जिम्मेवारी दिइएको बताए ।
‘हामीसँग कुनै सरसल्लाह भएको छैन,’ उनले भने, ‘कस्तो व्यक्तिलाई कमिटीमा ल्याउँदा पार्टीको गरिमा र ओज बढ्छ भन्ने ख्याल गरिएको छैन ।’ राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार परवेज वाइसीएलका पूर्वजिल्ला सचिव हुन् । लामो समयदेखि राजनीतिक गतिविधिमा संलग्न रहेकाले उनलाई जिम्मेवारी दिइएको सापकोटाले बताए । ‘उहाँको मुद्दा–मामिलाबारे हामीलाई थाहा भएन, राजनीतिक कार्यकर्तालाई अलिअलि मुद्दा लाग्नु सामान्य हो,’ उनले भने, ‘उहाँलाई राजनीतिक कारण पनि मुद्दा लागेको हुनसक्छ, उहाँको मुद्दाबारे जानकारी भएन ।’ उनले निजी र अराजनीतिक झगडामा मुद्दा परेको हो भने प्रमाणित भएको अवस्थामा पार्टी कमिटीबाट निष्काशन गर्ने बताए । (सेतोपाटीबाट)