इटहरीः सुनसरीको इटहरी–६स्थित वीरेन्द्र चौक क्षेत्रबाट प्रहरीले आज शनिबार् बिहान ४ बजे सवारी जाँचका क्रममा माछा तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ना ५ च १२६० नम्बरको पिकअप भ्यानका चालक र सहचालक रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक रमेशकुमार बस्नेतले बताए । उनका अनुसार भ्यानमा माछा लोड गरी लैजाँदै गरेकोमा कागजात माग गर्दा देखाउन नसकेपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट प्रहरीले रहु, नैनी, ब्रिकेट र सिल्भरकार जातका डेढ क्विन्टल माछा बरामद गरेको उनको भनाइ छ । पक्राउ परेका चालक र सहचालकसहित माछा बोकेको गाडीलाई आवश्यक कारबाहीका लागि सुनसरीको भन्टाबारीस्थित पशु क्वारेन्टाइनमा पठाइएको निरीक्षक बस्नेतले जानकारी दिए ।