इटहरीः मोरङमा भएका दुई छुट्टाछुट्रटै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दारका अनुसार कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय कमलप्रसाद तावाहाङको मृत्यु भएको छ । हिजो शनिबार राति ९ः२० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका तावाहाङलाई उपचारार्थ विराट मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान १ बजे उनको मृत्यु भएको हो । दुर्घटना गराउने मोटरसाइकलका चालक सप्तरीको रुपनी घर भएका २५ वर्षीय आजबुल मियाँ फरार रहेका छन् ।

उनको खोजीकार्य जारी रहेको निरीक्षक पोद्दारको भनाइ छ । यसैबीच, बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा भएको बस दुर्घटनामा पाँच जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ख ५०७९ नम्बरको बस दुर्घटनामा परी मोरङ पथरीशनिश्चरे नगरपालिका–२ का २४ वर्षीय रमेश न्यौपाने, २२ वर्षीया सुमी न्यौपाने, झापा बिर्तामोड–४ का ३५ वर्षीय विनेश खड्का, सुनसरी कुसाहाकी ४२ वर्षीया ललिमाया खातुन र झापा दमककी ४५ वर्षीया आस्मामाया घाइते भएका छन् । घाइतेमध्ये रमेश, सुमी र विनेशको अवस्था गम्भीर छ । विराटनगरस्थित न्युरो अस्पतालमा घाइतेहरुको उपचार जारी छ । बस चालक झापाको गौरीगञ्ज–६ घर भएका बस चालक ४५ वर्षीय मनोजकुमार महतोलाई बेलबारी प्रहरीले नियन्त्रणमा लिएको छ ।