इटहरीः मोरङको विराटनगरबाट प्रहरीले अष्ट्रेलियामा अध्ययनसँगै रोजगारी दिलाइदिने भन्दै विद्यार्थीसँग रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१३ घर भई ‘डाइनामिक एजुकेशन कम्प्लेक्स’ सञ्चालन गर्दै आएका ३२ वर्षीय प्रमोद सोनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताएका छन् । अष्ट्रेलियामा अध्ययन र रोजगारीका लागि पठाइदिने भन्दै अभियुक्त सोनीले ३१ लाख रुपैयाँ ठगी गरेको विराटनगर–३ का मनिष चौधरीको उजुरीपछि उनलाई पक्राउ गरिएको बताउँदै नायबउपरीक्षक राईले अदालतबाट पाँच दिनको म्याद थप गराई ठगी अभियोगमा अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार अभियुक्त सोनीमाथि काठमांडौस्थित ‘इन्फोसिस एजुकेशन कन्सल्टेन्सी ग्लोबल’ को फ्रेन्चआईची लिएर ठगी धन्धा चलाएको आरोप छ ।
मनिषका बावु कुलदीपका अनुसार पटक–पटक गरी ३१ लाख असुलेर सोनीले उनका छोरालाई२०७५ फागुन १९ गते अस्ट्रेलिया इन्टिच्यूट अफ हाइयर एजुकेशनमा ब्याचलर अफ विजेशन इन्फमेशन सिस्टम विषयको अध्ययनका लागि पठाएका थिए । तर ८ महिना बस्दापनि त्यहाँ सोनीले दाबी गरे अनुसार तीन लाख ५० हजार मासिक तलब सहितको रोजगारी नपाएपछि नेपालबाट तीन लाख ५० हजार रुपैयाँ पठाएर छोरालाई २०७६ कार्तिक १२ गते स्वदेश फर्काएका थिए । गत मंसिर ३० गते प्रहरीमा जाहेरी दर्ता गरेपछि सोनीले आफूलाई ज्यान मार्ने धम्कीसमेत दिएको कुलदीपको भनाइ छ ।