इटहरीः प्रदेश १ का विभिन्न जिल्लामा हिजो भएका सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा मोरङको सुनवर्षी नगरपालिका–२ बस्ने २० वर्षीय सुनिल खत्वे रहेका छन् । को १३ प १७८५ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा अमरदह बजारको भित्रि सडकमा को स ७१८० नम्बरको विपरित दिशाबाट आइरहेको टेम्पोसँग ठोक्किँदा गम्भीर घाइते भएका खत्वेको विराटनगरस्थित गोल्डेन अस्पताल पुर्याउनासाथ मृत्यु भएको हो ।
ठक्कर दिने टेम्पोका चालक डायनिया–९ बस्ने ३८ वर्षीय मोहम्मद महफिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, झापाको अर्जुनधारा नगरपालिका ११ कालि मन्दिरस्थित पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गइरहेको मे १० प ६८१२ नम्बरको मोटरसाइकलले सोही ठाउँकी पैदलयात्री १७ वर्षीया अविशा गिरीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते हुनुका साथै मोटरसाइकल चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–५ बस्ने ३२ वर्षीय समिर गुरुङसमेत सामान्य घाइते भएकाले दुवैलाई उपचारार्थ झापाको बी एण्ड सी अस्पताल पठाइएको भने मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ ।
यसैगरी, मोरङको रतुवामाइ नगरपालिका–१० स्थित उर्लाबारी–आमबारी सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको को १ ख २०४० नम्बरको टिपरले विपरित दिशाबाट आइरहेको को ३२ प २३७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रतुवामाइ–६ का ३८ वर्षीय तेजबहादुर राई र पछाडि सवारी निजकी आमा माचादेवी राई घाइते भई उपचाराार्थ विराटनगरस्थित विराट नर्सिङ होम पठाइएको छ । ठक्कर दिने टिपर र चालक मोरङको लेटाङ–९ बस्ने ३५ वर्षीय सोमनाथ सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, सुनसरीको इनरुवा नगरपालिका–१ स्थित भित्रि सडकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश न.१–०२–०२ च ३८२५ नम्बरको पिकअपले विपरित दिशाबाट आइरहेको अन टेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका ५६ वर्षीय ब्रम्हदेव यादव घाइते भई उपचारार्थ विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको र पिकअप चालक सुनसरीको कोसी गाउँपालिका–४ का ३२ वर्षीय सम्साद आलमका साथै दुवै सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैगरी, पाँचथरको फिदिम नगरपालिका–४ स्थित मध्यपहाडी लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ६ प २८६५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको मे ७ प ६०९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ६०९० नम्बरका मोटरसाइकलमा पछाडि बस्ने झापाको बुधबारे–१ का ४१ वर्षीय विनोद गौतम गम्भीर घाइते भएकोमा उपचारार्थ जिल्ला अस्पताल पाँचथर पठाई प्रहरीले दुवै मोटरसाइकल र ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाप्राङस्थित मध्यपहाडी लोकमार्गमा दिक्तेलबाट हलेसीतर्फ गइरहेको बा ९२ प ६७०४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको बा ५३ प ४८९४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा ४८९४ नम्बरको मोटरसाइकलका चालक सोही ठाउँका २३ वर्षीय सोनम पाण्डे र सोही मोटरसाइकलको पछाडि बस्ने रावाबेँसी गाउँपालिका–६ का १६ वर्षीय एल्जिप राई घाइते भएकोमा उपचारार्थ खोटाङ जिल्ला अस्पतलाल पठाई ६७०४ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिएर चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीको भनाइ छ ।
यसैगरी, सुनसरीको इटहरीस्थित कोसी लोकमार्गमा इटहरीबाट धरानतर्फ गइरहेको को १ ख २८०७ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा प्रदेश न.१–०२–०४२ प ५८१२ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किँदा विपरित दिशाबाट आइरहेको ग ८ प १६०४ नम्बरको मोटरसाइकलसमेत ठोक्किएपछि ५८१२ नम्बरको मोटरसाइकल चालक धरान– १७ का २४ वर्षीय प्रहरी जवान विक्रम लिम्बू र १६०४ नम्बरका मोटरसाइकल चालक इटहरी–१८ का २४ वर्षीय समित चौधरी घाइते भई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । तीन ओटै सवारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले फरार रहेका ट्रक चालकको खोजी गरिरहेको छ ।
यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–६ झपडताल चौकस्थित रङ्गेली–आमबारी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को २४ प २२८५ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको प्रदेश न.१–०२–०४१ प ४३९६ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा २२८५ नम्बरका मोटरसाइकलका चालक सुनवर्षी–९ का ३५ वर्षीय धीरेन्द्र सहनी घाइते भई उपचारार्थ विराटनगरस्थित नोबेल अस्पताल पठाइएको र अर्का मोटरसाइकल चालक रतुवामाइ–७ का ३३ वर्षीय अमरजीत शाहका साथै दुवै मोटरसाइकल नियन्त्रणमा लिएके प्रहरीले जनाएको छ ।