इटहरीः मोरङको विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत एक बिरामीले अस्पतालको दोस्रो तलाबाट हाम फालेर आज सोमबार आत्महत्या गरेका छन् ।
गत असोज १७ गते फोक्सोको उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना भएका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरले बिहान ५ः३० बजे हाम फालेकोमा गम्भीर अवस्थामा आईसीयूमा भर्ना गरिएका उनको बिहान ९ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि कोसी अस्पताल पठाइएको छ भने अस्पतालमा उपचाररत बिरामीले अस्वभाविक रुपमा आत्महत्या गरेकाले घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ ।