इटहरीः झापामा आज सोमबार एक महिला प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेकी छन् ।

आज बिहान ११ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापाको दमक–९ स्थित दीपज्योति उराउ टोलबाट ३० वर्षीया रुपा चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आफ्नै घरबाट पक्राउ परेकी महिलाको साथबाट प्रहरीले पलङमुनि प्लाष्टिकमा लुकाइराखेको अवस्थामा ३५ ग्राम ब्राउनसुगर (खैरो हेरोइन) का साथै ७४ हजार ६ सय १५ रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेकी अभियुक्त चौधरीविरुद्ध लागूऔषध नियन्त्रण ऐन–२०३५ अनुसार मुद्दा चलाउने तयारी गरिएको प्रहरीको भनाइ छ ।