इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक सुरक्षा गार्डलाई इलाका प्रहरी कार्यालय धरानको टोलीले चोरी गरेको आरोपमा आज मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीआईपी सेक्युरिटी कम्पनीमार्फत् प्रतिष्ठानमा सुरक्षा गार्डको रुपमा कार्यरत धरान–११ घर भएका ३६ वर्षीय सुरज श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तमाथि प्रतिष्ठानको सर्जरी युनिट–३ की एक महिला बिरामीका कुरुवाको ५० हजार रुपैयाँ चोरी गरेको आरोप छ । बिरामीकी कुरुवा दिलकुमारी राईका अनुसार अभियुक्तले उनको साथमा रहेको पर्सबाट ४९ हजार रुपैयाँ चोरी गरेका छन् ।

पैसा चोरी गरेर पर्स फाल्दै गरेको अवस्थामा एक कुरुवाले अभियुक्त श्रेष्ठलाई फेला पारेका थिए । प्रहरीले भने अभियुक्त श्रेष्ठका साथबाट १० हजार रुपैयाँ नगद बरामद भएको बताउँदै अभियुक्तलाई हिरासतमा राखी छानबिन सुरु गरेको जानकारी दिएको छ ।