इटहरीः मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपा नेता गुरु बराल हिजो मंगलबार कुटपिटमा परेका छन् ।
प्रतिष्ठानमा कार्यरत लेखा एवम् प्रशासन प्रमुख मुक्तिनाथ दाहालको मृत्युपश्चात उनको घरमा पुगेका बरालमाथि स्थानीयले कुटपिट गरेका हुन् । प्रतिष्ठानको बहुप्राविधिक शिक्षालयमा कार्यरत उर्लाबारी–५ निवासी दाहालको शव गत सोमबार शिक्षालयमै झुन्डिएको अवस्थामा फेला परेको थियो । उनको मृत्युको घटना शंकास्पद रहेको भन्दै प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत विनोद अर्याललाई आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ गर्नुपर्ने माग गरिरहेका स्थानीयको आक्रमणमा बराल परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार भीड उग्र बनेपछि उनलाई प्रहरीले सुरक्षा दिएको थियो । उग्र भीडलाई सम्झाइबुझाइ गर्न सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित नेकपाका नेताहरु घटनास्थल पुगेका थिए ।