इटहरीः नेपाल प्रहरीले दुई वर्षको अवधिमा प्रदेश १ बाट २५ हजार आठ सय ४८ लिटर घरेलु मदिरा नष्ट गरेको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ९ हजार ३ सय १० र २०७६÷०७७ मा १६ हजार ५ सय ३८ लिटर गरी जम्मा २५ हजार आठ सय ४८ लिटर मदिरा बरामद गरेको हो । आर्थिक वर्ष २०७५÷७६ मा मदिरा बरामदको दर ४३.७० प्रतिशतले न्यून रहेको थियो । सो वर्ष प्रहरीले मदिरा बनाउन प्रयोग गरिने आठ सय ७० किलो कच्चा पदार्थका साथै गैरकानूनी रुपमा मदिरा उत्पादनमा संलग्न १६ जनालाई पक्राउ गरेको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रकुमार कार्कीका अनुसार गत आर्थिक वर्षमा ६.९ टन कच्चा पदार्थका साथमा २९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आर्थिक बर्ष २०७६÷७७ मा प्रहरीले प्रदेश नं. १ का १४ वटै जिल्लाहरुबाट साउनमा दुई हजार चार सय ९९, भदौमा एक हजार चार सय ४५, असोजमा दुई सय ८९, कार्तिकमा सात सय, मंसिरमा ६ हजार दुई सय १२ र पौषमा एक हजार दुई सय २९ लिटर अवैध मदिरा बरामद गरेको प्रहरीले माघमा एक हजार ७७, चैत्रमा चार सय ३२, बैशाखमा एक हजार दुई सय ७५, जेठमा एक हजार दुई सय १५ र असारमा एक सय ६५ लिटर अवैध मदिरा बरामद गरेको थियो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाका अनुसार मदिराको गैरकानूनी उत्पादन तथा कारोबार गर्नेलाई अन्तशुल्क ऐन, २०५८ बमोजिम एक महिनादेखि तीन महिनासम्म कैदका साथै पाँच हजारदेखि १५ रुपैयाँसम्म जरिवाना गरिन्छ ।