इटहरीः सुनसरीको इटहरीस्थित आइतबारे क्षेत्रबाट लागूऔष लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले ४१ ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ जनता बस्तीका २३ वर्षीय प्रविण राई रहेको प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) कविन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार अभियुक्तलाई बुधबार राति पक्राउ गरेलगत्तै इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाइएको छ ।
अभियुक्तका साथबाट १५ ग्राम ४० मिलिग्राम र घरमा राखिएको २५ ग्राम नौ सय ६० मिलिग्राम गरी ४१ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रवक्ता कार्कीले बताए । अभियुक्तमाथि लागुऔषध नियन्त्रण ऐन–२०३५ अनुसार मुद्दा चलाइने प्रहरीको भनाइ छ ।