इटहरीः मोरङ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले बलात्कारको अभियोग स्वीकार गरेका अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि न्यायपरिषद्ले हिजो उनको सरुवा गरेको छ ।
नियमित सरुवाका क्रममा देशभरका एक सय १४ जना न्यायाधीशको सरुवा गरेको परिषद्ले कोइरालालाई काठमांडौ जिल्ला अदालत पठाएको हो । दलित महिलाको बलात्कार गरी अदालतमा आरोप स्वीकार गरेर्को मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाडाका काजी भनिने काजिमान श्रेष्ठ कोइरालाकै इजलासको आदेश अनुसार एक लाख रुपैयाँ धरौटीमा असोज १६ गते रिहा भएका थिए ।
यसैबीच, बलात्कारका अभियुक्तलाई रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले उच्च अदालत विराटनगरमा ७३ नम्बर निवेदन दर्ता गराएको कार्यालयका सूचना अधिकारी उमेश अधिकारीले बताए । अभियुक्त श्रेष्ठले २३ वर्षीया दलित महिलालाई एक हजार रुपैयाँ दिने सर्तमा आफूले करणी गरेको स्वीकार गरेका थिए ।