इटहरीः एक नम्बर प्रदेशका विभिन्न जिल्लाहरुमा पक्राउ परेका अभियुक्तहरुबाट प्रहरीले गत आर्थिक वर्ष २०७६÷७७ मा १९ करोड ३४ लाख ५२ हजार पाँच सय ४३ रुपैयाँ बराबरको जरिवाना रकम संकलन गरेको छ ।
सबैभन्दा बढी रकम मोरङ जिल्लामा संकलन भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क रहेको छ । मोरङका चार सय ४३ जना अभियुक्तहरुबाट १७ करोड एक लाख ५८ हजार एक सय १५ रुपैयाँ जरिवाना संकलन गरिएको प्रदेश १ प्रहरी प्रवक्ता कविन्द्रकुमार कार्कीले बताए । उनका अनुसार सोही वर्ष झापाका ८७ जना अभियुक्तबाट एक करोड १२ लाख ९५ हजार, इलामका ९२ जनाबाट २६ लाख ६७ हजार, पाँचथरका आठ जनाबाट ६० हजार ४७ रुपैयाँ, सुनसरीका तीन सय १२ जनाबाट ११ लाख ८२ हजार, तेहृथुमका सात अभियुक्तबाट दुई लाख ८३ हजार, उदयपुरका ५९ जनाबाट तीन लाख १३ हजार, खोटाङका नौ जनाबाट एक लाख २५ हजार, ओखलढुङ्गाका तीन जनाबाट २७ हजार पाँच सय, सोलुखुम्बुका ६ जनाबाट पाँच लाख नौ हजार, संखुवासभाका १६ जनाबाट १३ लाख ९६ हजार, र भोजपुरका पाँच जनाबाट ४० लाख २३ हजार रुपैयाँ असुल गरिएको छ ।
प्रवक्ता कार्कीले प्रदेशभर आर्थिक वर्ष २०७६÷७७ मा ६ सय एक जनाउपर फौजदारी र तीन सय ६९ जनाउपर देवानी मुद्दा दायर भएको बताए ।