इटहरीः नेपाल प्रहरीले प्रहरी पोसाक दुरुपयोग नगर्न सरोकारवालालाई उचेत गराएको छ ।

प्रहरी प्रधान कार्यालयले हिजो बिहीबार एक विज्ञप्ति जारी गर्दै बिनाअनुमति प्रहरीसँग सम्बन्धित कुनै पनि चिन्ह वा पोसाक प्रयोग नगर्न अनुरोध गरेको हो । चलचित्र, टेलिचलचित्र, सर्ट मुभिज, प्रांक भिडियो, सांगितिक भिडियो, टिकटक, टेलिभिजन कार्यक्रम तथा स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग नगर्न विज्ञप्तिमार्फत् प्रहरीले आग्रह गरेको छ ।

‘प्रहरी पोसाकको दुरुपयोग भइरहेको सम्बन्धमा प्रहरी प्रधान कार्यालयको ध्यानाकर्षण भएको र यस सम्बन्धमा निम्नानुसार स्पष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ । प्रहरी पोसाक प्रयोग गर्नुपूर्व प्रहरी कार्यालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था लागु भइसकेको जनाउँदै प्रहरीले बिनाअनुमति पोसाक दुरुपयोग गर्नेलाई कारबाही गरिने जनाएको छ ।