धरानः नजिकिदै गरेको चाडपर्वमा कोरोनाको महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले असोज २५ गते देखि साँझ ८ बजे सम्म मात्र बजार, पसल तथा व्यवसाय संचालन गर्ने निर्णय गरेको छ ।
जिल्लाको सुरक्षा समितीको बैठकले २५ गते देखि साँझ ८ बजे पछि सम्पुर्ण बजार बन्द गर्ने निर्णय गर्दै खुल्ला स्थानमा हुने हाटबजारहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै संचालन गर्न दिइने निर्णय गरेको छ । स्वास्थ्य मापदण्ड नपनाए कानुन बमोजिम कारवाही गरिने समेत निर्णय भएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार लामो र छोटो दुरीका तथा स्थानीयस्तरमा सञ्चालन हुने यातायातका साधनले पनि अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको छ ।
समितीको बैठकले नजिकिदै गरेको दशैं, तिहार, छठ लगायत चाडपर्व आआफ्नो घरभित्र परिवारसँग मात्र मनाउन आग्रह गरेको छ । बिना काम घरबाट बाहिर ननिस्कन र समुहमा हिड्दा सामाजिक दुरी कायम गर्न पनि आग्रह गरेको छ ।

मन्दिर, मञ्जिद तथा गुम्बाहरुमा नित्य पुजाआजामा भिडभाड नहुने गरि पालैपालो एक एक जना गर्दै पुजा आजा गर्न पनि आग्रह गर्दै सर्वसाधारणका लागि पुजा, प्रार्थना, नमाज, ध्यान गर्न निषेष गर्ने पनि निर्णय गरिएको छ ।