इटहरीः टेम्पो प्रयोग गरी भारतबाट पटाका तस्करी गरेको आरोपमा झापाको भद्रपुर नाकाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मे १ ह ३३४३ नम्बरको टेम्पोका चालक भद्रपुर नगरपालिका–४ बस्ने ढोक्रे राजवंशी रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) कविन्द्र कार्कीले बताए । उनका अनुसार हिजो शुक्रबार साँझ ७ बजे र भद्रपुर–३ पैतिसलाइनबाट पक्राउ परेका राजवंशीका साथबाट वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले टेम्पोमा लुकाइराखेको अवस्थामा खुर्सानी बम ब्राण्डका ५८ बण्डल पटाका बरामद गरेको छ ।

हाल अभियुक्त वडा प्रहरी कार्यालयकै हिरासतमा रहेको बताउँदै प्रवक्ता कार्कीले उनीमाथि कारबाहीका लागि अनुसन्धान भइरहेको बताए । चाडपर्व नजिकिएसँगै भारतीय बजारबाट प्रतिबन्धित पटाकाको चोरी पैठारी बढेको हो ।