इटहरीः गत असोज ३ गते छिमेकीको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका एक जनाको आज शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा–८ बस्ने ६५ वर्षीय चन्द्रबहादुर कोइराला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार छिमेकी बलबहादुर खड्काको खुकुरी प्रहारबाट खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका कोइरालाको मोरङको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भएको थियो । केही दिनअघि अस्पतालबाट डिस्चार्ज भई आएका उनको आज ज्यान गएको हो ।

खुकुरी प्रहारबाट कोइरालाकी श्रीमतिलाई समेत घाइते बनाएका अभियुक्त खड्कालाई घटनालगत्तै पक्राउ गरी ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरेको प्रहरीको भनाइ छ । अभियुक्त खड्काले आपसी विवादका कारण आवेगमा आई कोइरालामाथि आफ्नै घरमा रहेको खुकुरी प्रहार गरेका थिए ।