इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित पानीट्याङ्की–पुष्पलाल चौक सडकखण्डमा जडान गरिएका सोलार बत्तिहरु मर्मत अभावमा बल्न छोडेका छन् । कुल ९७ सडक बत्तिमध्ये अधिकांश बत्तिहरु बिग्रिएका छन् ।

आधाभन्दा बढी बत्ति बिग्रिएपछि रातको समयमा सडकमा यात्रा गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । स्थानीय नविन भट्टराईका अनुसार बत्ति मर्मतमा महानगरपालिका उदासिन बन्दा सो स्थानमा सडक दुर्घटना बढ्दै गएको छ । विराटनगर महानगरपालिकाको विद्युत् शाखाले भने १ करोड ८५ लाख २४ हजार ९० रुपैयाँको लागतमा ९७ वटा सोलार बत्तिहरु जडान गरिएको जनाएको छ ।

शाखाका प्रमुख अनिल सिंहले एउटा बत्ति जडान गर्दा एक लाख ९० हजार नौ सय ७० रुपैयाँ खर्च भएको बताए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईन्द्रमणि पोखरेलले बत्ति मर्मतमा महानगरको सक्रियता नदेखिएकोप्रति खेद प्रकट गरेका छन् । बत्तिको मर्मतका लागि विद्युत् शाखासँग समन्वय गरी छिटै काम अघि बढाउने प्रतिबद्धतासमेत पोखरेलले जनाएका छन् । संरचना निर्माण गरेपनि सोको मर्मतसम्भारमा ध्यान नदिने महानगरपालिकाको रवैयाका कारण अधिकांश संरचनाको अवस्था जिर्ण बन्दै गएको छ ।