भूमिप्रसाद पाठक
पथरीः पूर्वोत्तर मोरङको उर्लाबारीस्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालद्वारा दमक नपा वडा नं – ४ ताराबारीमा सञ्चालित बहुप्राविधिक शिक्षालयका लेखा तथा प्रशासन अधिकृत मुक्तिनाथ दाहालको देहत्यागका विषयमा छानबिन गर्न राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको नेतृत्वमा हिजो शनिबार एउटा समिति गठन भएको छ ।

Mukti Sir 3

 कोभिड – १९ को बढ्दो संक्रमण र यसले ल्याउने जोखिमका कारण शारीरिक रूपमा एक ठाउँमा जुट्न सम्भव थिएन । जुम एपमार्फत बसेको मदन भण्डारी स्मृति प्रतिष्ठानको कार्यसमितिले बैठकले घटना र घटना अघि–पछिका सम्पूर्ण अवस्थाको अध्ययन, अनुसन्धान र सत्यतथ्य कारण पत्ता लगाउन राष्ट्रियसभाका पूर्वसदस्य हरिचरण शिवाकोटीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । प्रतिष्ठानका अध्यक्ष गुरूप्रसाद बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार निर्मित सो समितिमा सदस्यहरू क्रमशः उर्लाबारी नगरपालिका उपमेयर लक्ष्मीदेवी भण्डारी, सुमित्रा भण्डारी, नारायण वस्ती, खोमप्रसाद बगाले, सोम निरौला र भोला दाहाल रहेका छन् ।

स्रोतका अनुसार निरौला मृतक दाहालका सहोदर मामा हुन् भने दाहाल जेठा दाजु हुन् । परिवारजनसमेत सङ्लग्न सो समितिले १५ दिनभित्र छानबिन कार्य सम्पन्न गरी प्रतिवेदन कार्यसमितिमा पेस गर्नुपर्ने प्रतिष्ठान बैठकको निर्णय रहेको विज्ञप्तिमा उल्लेख छ । घटना घटेलगत्तै उत्रिएको भीडले कार्यकारी निर्देशक विनोद अर्यालले आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा उनको निलम्बनको माग गरेको थियो । यसलाई समेत मध्यनजर गर्दै बैठकले घटनाको छानबिन पक्रिया पूरा नहुञ्जेलसम्मका लागि कानि विनोद अर्याललाई कार्यालयको सम्पूर्ण कामकाजबाट अलग्याउँदै कुनै पनि प्रकृतिको काम कारबाही नगर्न निर्देशन दिएको प्रतिष्ठानका अध्यक्ष गुरूप्रसाद बरालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार दाहालको देहत्यागको सत्यतथ्य पत्ता लगाउन र उनको परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनलाई सहयोग गर्न प्रतिष्ठान कार्यसमिति र प्रतिष्ठान परिवार प्रतिबद्धताका साथ लाग्ने निर्णय भएको छ ।

 विज्ञप्तिमा उल्लेख भएअनुसार बैठकले दिवंगत दाहालको अनुपस्थितिमा उनकी श्रीमति शान्ता अधिकारी दाहाललाई प्रतिष्ठानको सेवाक्षेत्रमा स्थायित्व कायम गर्ने र उनका छोराहरू इशान र श्रेयन दाहालको स्नातकोत्तर तहसम्मको अध्ययनलाई निरन्तरता दिन प्रतिष्ठानले अभिभावकत्व ग्रहण गर्ने निर्णयसमेत गरेको छ । घटना घटेको दिनसम्म काठमांडौमा रहेका प्रतिष्ठानका अध्यक्ष बराल भोलीपल्ट २० गते बिहान ९ बजेतिर मृतक दाहालको डीबी मार्ग, उर्लाबारीस्थित निजी निवासमा शोक व्यक्त गर्न, समवेदना प्रकट गर्न र मृत्यु उपरान्त अन्त्येष्टि संस्कारमा सहभागी हुन पुगेका थिए । केहिबेरमा यहाँ जम्मा भएको भीडले उनीमाथि मानमर्दन र केही अवाञ्छित तत्वबाट भौतिक आक्रमण समेत भएको थियो । बैठकले यो खालको अत्यन्तै घीनलाग्दो हर्कतको कडा शब्दमा निन्दा गर्दै अनुचित रूचिहरूको अभियक्ति स्वतन्त्रताले साँचो अर्थमा मृतक दाहालप्रति न्याय नहुने कुरामा समेत ध्यानाकर्षण गराएको बुझिएको छ ।

अधिकृत तहको जिम्मेवारीमा रहेका मुक्तिनाथ दाहालले गत असोज १९ गते शिक्षालयभित्रै डोरीमा झुण्डिएर आत्महत्या गरेका थिए । मृतक दाहालको देहत्यागमाथि प्रश्न उठाउँदै पूर्वविद्यार्थीहरूले उनीमाथि अविलम्ब न्याय दिलाउन चरणबद्ध दबाबमूलक गतिविधिहरू गर्दै आएका छन् ।