इटहरीः सुनसरीको देवानगञ्ज–७ मा अंशवन्डा विवादका कारण एक महिला कुटपिट र दुव्र्यवहारको सिकार भएकी छन् ।

गत असोज १८ गते अंशवंडा विवादकै कारण ३० वर्षीया ममतादेवी मेहता आफ्नै जेठाजु रामकुमार मेहता र उनका साथीहरु रामकुमार यादव र सुवेश यादवबाट कुटिएको स्थानीयले बताएका छन् । कुटपिटबाट टाउको, घाँटी र मुखमा चोट लागेपछि उपचारार्थ मोरङको विराटनगरस्थित गोल्डेन अस्पताल लगिएकी मेहता चार दिनपछि डिस्चार्ज भएकी थिइन् । तरकारीको खुद्रा कारोबार गर्ने उनका पति दिनेशको चार वर्षयता दाजुसँग १० कट्ठा जग्गाबारे विवाद चलिरहेको छ ।

कुटपिटमा परेपछि पीडकविरुद्ध महिलाले हरिनगरा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउने प्रयास गरेकोमा प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि उनले हुलाकमार्फत् आपराधिक दुरुत्साहन मुद्दामा उजुरी दर्ताका लागि पठाएको देवानगञ्ज गाउँपालिका–७ का वडाध्य बद्री यादवले बताए । घटनाका आरोपीमध्येका एक सुवेशलाई घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले उनलाई दुई दिनपछि रिहा गरी दुई लाख रुपैयाँ लिएर मिलापत्र गर्न आफूलाई दबाब दिएको पीडित महिलाको आरोप छ ।