इटहरीः जनप्रिय नेता तथा समाजसेवी कृष्णप्रसाद दाहालको हिजो सवारी दुर्घटनामा निधन भएको छ । सुन्दरपुर खानेपानी आयोजनाका अध्यक्ष समेत रहेका दाहाल सुन्दरपुरे जनतालाई खानेपानी चाँडै घर घरमा पुरयाऊने ठूलो सपना बोकेर खानेपानी आयोजना कै कामको लागि विराटनगर गएर घर फर्कने क्रममा सुनसरीको सोनापुरमा ट्यांकरले ठक्कर दिदा घटनास्थलमै उनको निधन भएको हो । सुन्दरपुरको मात्र नभई प्रदेश नम्बर १ कै जनप्रिय नेताका रुपमा चिनिएका उनको निधनले प्रदेश नै शोकमा डुबेको छ । सरल, मिजासिला स्वभावका उनि इटहरीमा पहिलो पटक स्थापना भएको सप्तकोशी एफएम संचालक समितिका पूर्व अध्यक्ष पनि हुन् । दिनरात जनताकै सेवामा सर्मपित उनि तत्तकालिन सुन्दरपुर गाविसको दुई कार्यकाल अध्यक्ष भएका थिए । नेकपा मोरंगका जिल्ला सदस्य समेत रहेका उनि सुन्दरपुरकै सबैभन्दा पुरानो चर्चित भानु साझा पुस्ताकालयका पूर्व अध्यक्ष पनि हुन् । उनी अध्यक्ष भएकै समयमा सो पुस्ताकालय विधिवत रुपमा जिल्ला प्रशासनमा दर्ता भएको थियो । सो बेला सो पुस्ताकालयको सचिव गुरु बराल थिए ।
राजनिति र सामाजिक कार्यमा उत्तिकै सक्रिय दाहाल पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिका भित्र रहेका सहकारीहरुलाई मर्ज गर्ने अभियानमा पनि खटिएका थिए । उनलाई मर्ज गरिएका सहकारीहरुको अध्यक्षको जिम्मेवारी पनि सुम्पिएको थियो । नेकपाले आउँदो निर्वाचनमा उनलाई संघीय या प्रदेश सांसदका लागि टिकट दिने तयारी पनि गरेको पार्टी स्रोतले जनाएको छ ।
उनि नेकपामा मात्र नभई सबै पार्टीका नेता तथा कार्यकर्ताहरु माझ पनि प्रिय थिए । त्यागी नेताका रुपमा परिचित उनको निधनले पार्टीलाई मात्र नभई सुन्दरहरैंचालाई नै अपुरणीय क्ष्क्षति पुगेको छ । सबै पक्षसङ मिलेर अगाडी बढनसक्ने क्षमता भएका , सामाजिक व्यक्तित्व, अति मिलनसार व्यक्तित्वलाई गुमाउँदा अत्यन्तै पीडा बोध भएको सुन्दरहरैंचा नगरपालिका मेयर शिबप्रसाद ढकालले बताएका छन् । उनले समाजिक संजालमा स्टाटस लेख्दै यसो भनेका हुन् ।
दर्जनौ सामाजिक संघ संस्थामा जिम्मेवार पदमा रहेका उनको सवारी दुर्घटनामा परि निधन भएपछि सयौंले सामाजिक संजालमार्फत श्राद्धाञ्जली व्यक्त गरेका छन् । दाहाल आँखामा हाल्दा पनि नबिझाउने स्वभावका थिए । सबैसम्म बोल्दा मुसुक्क हाँस्ने स्वभावले गर्दा सायद उनले कसैलाई पनि मन दुखाउने काम नगरेको सो क्षेत्रका बासिन्दाहरुको भनाई छ । दाहालको अहिले साढे १० बजे इटहरी स्थित गंगा जमुना मुक्ति घाटमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने छ । उनका दुई छोरा, एक छोरी र श्रीमति छन् । 

उनको हिजो दिउँसो ४ बजे को १७ प ६९८१ नम्बरको मोटरसाइकलमा विराटनगरबाट इटहरीतर्फ आउने क्रममा मे १ ख २४९८ नम्बरको ट्याङ्करले ठक्कर दिँदा दाहालको घटनास्थलमै मृत्यु भएको थियो  । दुर्घटना गराउने ट्याङ्कर र चालक इप्रका दुहबीको नियन्त्रणमा रहेको  छ ।