इटहरीः झापाको कन्काई नगरपालिका ३ स्थित सुरुङ्गा खोलामा रहेको बाँसघारीमा आज बुधबार बिहान एक युवकको शव फेला परेको छ ।

शव फेला पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायबउपरीक्षक (डीएसपी) राकेश थापाले बताए । उनका अनुसार शव फेला परेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोलीले हत्या गरी फालिएको अवस्थामा शव फेला पारेको हो ।

चौधरीको अनुहारमा धारिलो हतियार प्रहार भएको देखिएको जनाउँदै नायबउपरीक्षक थापाले घटना रहस्यमय रहेको बताए । जिल्ला प्रहरी कार्यालय झापाको टोलीसमेत घटनास्थलमा परिचालित भएको बताउँदै उनले घटनास्थल सिल गरी धरानबाट आउन लागेको तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान अगाडि बढाइने बताए ।