इटहरीः प्रदेश १ सरकारले आज प्रदेशका १४ मध्ये ११ जिल्लाका एक एक स्थानीय तहलाई एक थान दमकल र एक थान प्रहरी भ्यान प्रदान गरेको छ ।

मोरङको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री शेरधन राईले दमकल र भ्यान स्थानीय तहलाई हस्तान्तरण गरे । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत् खरिद गरिएको ११ ओटा दमकलको मूल्य पाँच करोड ६७ लाख २० हजार र १४ ओटा प्रहरी भ्यानको मूल्य ६ करोड २८ लाख २७ हजार चार सय ६० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङ,सोलुखुम्बु र संखुवासभाका स्थानीय तहलाई अर्को चरणमा तीन प्रकारका सामग्री उपलब्ध गराउने प्रदेश सरकारको योजना छ । आज सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, ईलामको देउमाई नगरपालिका, पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई नगरपालिकाले दमकल र प्रहरी भ्यान प्राप्त गरेका हुन् ।

सेवा केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउने योजना अनुसार प्रकृया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालका अनुसार हस्तान्तरण गरिएका सामग्री स्थानीय तहका प्रमुख संयोजक रहेको मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन समितिमार्फत परिचालन तथा प्रहरीद्वारा सञ्चालन गरिनेछ । सवारीको मर्मतसम्भार र इन्धनको खर्च स्थानीय तहले र जनशक्ति व्यवस्थापन प्रदेश प्रहरीको समन्वयमा मन्त्रालयले गर्ने भएको छ ।