इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालित चार ओटा मासु पसलले मापदण्डको धज्जी उडाउँदै अस्वस्थकर मासु बिक्री गरेको भन्दै अनुगमन टोलीले आज ती पसलमा ताला लगाएको छ ।

पटक पटक सचेत गराउँदा पनि मापदण्ड अनुसार पसल सञ्चालन नगरेपछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको संयोजकत्वमा नगर प्रहरी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि, इलाका प्रहरी सहित गएको बजार अनुगमन टोलीले आज बिहान पसल सील गरिदिएको हो ।

laxmi gautam

सीलबन्दी गरिएका पसलहरुमा इटहरीको पश्चिम लाइनस्थित नमस्ते मासु पसल, मामा मिट सेन्टर, इटहरी मिट सेन्टर र सन्जेल मिट पसल रहेको उपमेयर गौतमले बताइन् । न्यूनतम स्वास्थ्य मापदण्ड पनि पूरा नगरेको, अस्वस्थकर मासु बिक्री गरेको, व्यवसायको दर्तासमेत नगरेको पाइएपछि सील गरिएको उनको भनाइ छ । एक हप्ताअघि पत्राचार गरी गुणस्तर मापदण्ड पालना गर्न सचेत गराइएकोमा अटेर गरेपछि सील गरिएको उपमेयर गौतमले प्रष्ट पारिन् ।

सील गरिएका पसललाई मापदण्ड पालना गर्ने सुनिश्चित गरेर मात्र पुनः सञ्चालन गर्न दिने बताउँदै उपमेयर गौतमले अनुगमनका क्रममा अन्य सात ओटा मासु पसलमा पनि कैफियत फेला परेकाले सुधारको निर्देशन दिइएको बताइन् । यसैगरी आज तरकारी पसलको पनि अनुगमन गरी स्वस्थकर तरकारी मात्र बिक्री गर्न व्यवसायीलाई सचेत गराइएको गौतमले जानकारी दिइन् ।

अनुगमनका क्रममा मूल्यसूचि नराख्ने पसललाई अविलम्ब मूल्यसूचि राख्न टोलीले निर्देशन दिएको छ । चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको कालोबजारी तथा गुणस्तरमा अनियमितता बढ्ने गरेको भन्दै उपमहानगरले दैनिक अनुगमन गरिरहेको छ ।