इटहरीः उदयपुरको कटारी नगरपालिका– १४ भदौरेस्थित सिद्दिचरण लोकमार्गमा गएराति स्कर्पियो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

 मृतकहरु सबैको घटनास्थलमै मृत्यु भएकोमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको मात्र पहिचान खुलेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रम्ुख प्रहरी उपरीक्षक (एसपी)सञ्जीव शर्मा दासले बताए ।

उनका अनुसार दुर्घटनाका अन्य मृतकहरु अन्दाजी ३२ वर्षीय पुरुष, अन्दाजी ३५ वर्षीय पुरुष र अन्दाजी ३५ वर्षीया महिलाको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कर्पियो चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक दासको भनाइ छ ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कर्पियो ब्रेक फेल भई राति करिब ११ः५५ बजे सडकबाट नौ सय मिटर तल खसेको दासले बताए । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको ट्राफिक प्रहरीको भनाइ छ ।