इटहरीः मोरङको विराटनगर महानगरपालिका १६ स्थित इलाका प्रहरी कार्यालय रानीले नयाँ भवनबाट सेवा सुरु गरेको छ ।

युनोस नामक संस्थाले सात करोड पचास लाख रुपैयाँको लागतमा निर्माण गरिदिएको अत्याधुनिक सुविधासम्पन्न भवन प्रहरीले प्रयोगमा ल्याएको हो । असारमा निर्माण सुरु भएको भवन निर्माण सम्पन्न भएपछि भवन अभावमा सीमा प्रहरी चौकीबाट कार्यसम्पादन गर्नुपर्ने तथा विराटनगर जुट मिल्सको भवनलाई ब्यारेकका रुपमा प्रयोग गर्नुपर्ने प्रहरीको बाध्यता हटेको छ ।

भारतीय सीमावर्ति क्षेत्रमा रहेको इप्रका रानीले जिल्लामै सबैभन्दा बढी लागूऔषध मुद्दाको अनुसन्धान गर्ने गरेको छ । हाल प्राप्त भएको भवनमा ५० जना थुनुवा व्यवस्थापन गर्न सकिने हिरासत कक्ष उपलब्ध रहेको बताउँदै इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक दीपक थापाले हाल विभिन्न कसुरमा संलग्न नौ जना कार्यालयके हिरासतमा रहेको जानकारी दिए ।

थापाका अनुसार ब्यारेकका लागि तीन तले तथा प्रशासनिक कार्यका लागि दुई तले छुट्टाछुट्टै भवन तथा शौचालय र मेसको राम्रो व्यवस्थाले कार्यसम्पादनमा सहजता आएको छ । वि.स. २०७६ असारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरका तत्कालिन प्रमुख प्रहरी नायबमहानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीद्वारा शिल्यान्यास गरिएको भवनको औपचारिक उद्घाटन नहुँदै सञ्चालनमा आएको हो ।