इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका १३ खनार घर भइ काठमाडौँमा एभरेष्ट मेनपावर सञ्चालन गर्दै आएका सुर्य गिरिलाई ५४ लाख चुना लगाएर एक जना फरार भएका छन् । फरार हुनेमा निकेश खतिवडा उर्फ ‘भिम शर्मा’ रहेका छन् । सुनसरीको इटहरी स्थायी घर भएका निकेशले सुर्यलाई दुवइमा राम्रो काम भएको र केहि मान्छे पठाउन भनेका थिए । सोहि अनुसार सुर्यले सुनसरीको इटहरीसहित देशका विभिन्न ठाउँबाट २२ जनालाई उनको मेनपावरबाट भिजिट भिसामा दुवई पठाएको जानकारी दिए । सुर्यका अनुसार निकेश सामाजिक सञ्जालबाट उनिसँग जोडिएका थिए ।

दुवई पुगेपछि निकेशले २२ जनाबाट प्रतिव्यक्ति एक हजार डलर लिएर फरार भएका हुन् । सुर्यका अनुसारी दुवईको विभिन्न ठाउँमा काम लगाइदिने भन्दै उनले कामदार माग गरेका थिए । रोजगारिका लागि दुबई पुगेका उनिहरुलाई निकेशले आफ्नो फोन नम्बर दिन नमिल्ने भनेका थिए । उनिहरुबाट त्यति धेरै रकम लिएर फरार भएपछि आफू अप्ठ्यारोमा परेको सुर्यले बताए । त्यसपछि सबैलाई प्रक्रिया पुर्याएर नेपाल फर्काइएको उनले बताए ।

‘केटाहरुलाई त्यहाँ अलपत्र पारेर उ फरार भएपछि मैले जसरी नि उनिहरुलाई नेपाल ल्याउनु पर्छ भन्ने ठाने । त्यसपछि सबैलाई प्रक्रिया पुर्याएर नेपाल फर्काए । उनिहरुको त्यहाँ बस्दा खाँदा लागेको पैसा पनि तिरेँ । सबैको प्लेन टिकेट काटेर नेपालमा आ–आफ्नो घरमा पुर्याएँ । यति गर्दा मेरो ५४ लाख खर्च भएको छ’, सुर्यले भने । साथै उनले छोरिको मृत्यु भएको वर्ष ५४ लाख ऋण लागेको बताए । उनले आफ्नो जायजेथा बेचेर त्यो ऋण चुक्ता गरेका छन् ।

‘हामी भनेको एक मध्यम वर्गीय परिवारको मान्छे । हामीलाई त्यत्रो ऋण लाग्नु सानो कुरा होइन् । उसलाई मैले कयौँ पटक सम्पर्क गर्ने प्रयास गरे तर सकिन । मेरा साथिहरु मार्फत् पनि उसलाई खोज्ने प्रयास गरे त्यो पति विफल भयो’, सुर्यले भने । निकेशको परिवारमा पनि गएर सुर्यले पैसाको कुरा गरेको र उ आएपछि मात्र हुने परिवारले बताएको जानकारी दिए । त्यसपछि उनले बारम्बार खोजि गर्दा पनि निकेश फरार छन् ।