ओखलढुंगाः प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले दसैंका अवसरमा जिल्ला कारागार ओखलढुङ्गामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी हस्तान्तरण गरेका छन् ।
विभिन्न घटनामा संलग्न भएर कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीलाई सम्झिएको सांसद सुनुवारले बताए । कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाव दिए । पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्नेजस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उनको भनाइ थियो । सांसद सुनुवारले २०७० सालदेखि दसैंका समयमा कैदीबन्दीलाई खसी सहयोग गर्दै आएका छन् ।
खसी उपहार दिन कारागार पुगेका सांसद सुनुवार, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेललगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् । प्रमुख जिल्ला अधिकारी पौडेलले कारागारमा क्षमताभन्दा बढी कैदी राखिनुपर्ने बाध्यता रहे पनि आन्तरिक व्यवस्थापन राम्रो गर्ने प्रयास भइरहेको बताए ।
कैदीबन्दीबीचको एकता र मेलमिलाप चर्चायोग्य छ भन्दै प्रजिअ पौडेलले आगामी दिनमा पनि मिलेर बस्न आग्रह गरे । कारागार समस्या समाधानका लागि माथिल्लो निकायमा सिफारिस गरिएको उनले बताए । (रासस)