इटहरीः मोरङको कटहरी गाउँपालिका ४स्थित लोहोन्द्रा घाटबाट प्रहरीले अवैध पटाकाको चोरी पैठारी तथा कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ घर भएका दीलिपकुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले बताए । खड्काका अनुसार आफ्नै घरबाट पक्राउ परेका सहनीले झिरझिरे, नागिन, खोर्सानी बमलगायत एक लाख ८० हजार रुपैयाँ मूल्य पर्ने पटका तथा कपडा, जिरा, पापड लगायतका किराना र फेन्सी सामान र वलवान खैनी तथा बालसेरी काँटीसमेत लुकाएर भण्डारण गरेकोमा प्रहरीले सबै सामान बरामद गरेको छ ।

बरामद भएका कपडाको मूल्य सात लाख, फेन्सी सामानको २३ हजार, किराना सामानको ३३ हजार खैनीको ४६ हजार र काँटीको १२ हजार रहेको प्रहरी उपरीक्षक खड्काले बताए । बरामद गरिएका पटाका नष्ट गरी अन्य सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको खड्काको भनाइ छ । विषेश सूचनाका आधारमा अवैध पैठारीको कार्यमा संलग्न सहनीलाई नियन्त्रणमा लिएको बताउँदै उपरीक्षक खड्काले उनी लामो समयदेखि भारतबाट मालसामानको अवैध पैठारी तथा कारोबारमा संलग्न रहेको खुलासा भएको प्रष्ट पारे ।

यसैगरी उनले पटाकाको अवैध पैठारीका कारण आगलागीजस्ता दुर्घटनाको जोखिम बढ्ने हुँदा विषेश अभियानका साथमा प्रहरी यसको नियन्त्रणमा जुटेको उल्लेख गरे ।