इटहरीः मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुरमा हिजो सोमबार साँझ भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दक्षिणबाट उत्तरतर्फ गइरहेको को १ ह ७३५१ नम्बरको टेम्पो सडकछेउमा रहेको सखुवाको मुढामा ठोक्किँदा सोही क्रममा र को १७ प ६१४३ नम्बरको मोटरसाइकलसमेत अनियन्त्रित भई दुर्घटनाग्रस्त भएपछि दुवै सवारीका यात्री घाइते भएका हुन् । घाइते हुनेहरुमा टेम्पो चालक उर्लाबारी नगरपालिका–१ का ३७ वर्षीय धनबहादुर श्रेष्ठ, टेम्पोमा सवार लेटाङ–६ का ३३ वर्षीय सन्तोष राई र लेटाङ–२ का २१ वर्षीय देव राना मगर घाइते भएका छन् ।

त्यस्तै, मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–१ का २२ वर्षीय नितेश धिमाल, मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय प्रज्वल गुरुङ र १३ वर्षीय सुशन पुन रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घाइतेमध्ये पाँच जनालाई उपचारार्थ लेटाङकै सामुदायिक मेडिकलमा पठाएको र एक घाइते सन्तोषलाई आँखामा लागेको गम्भीर चोटका कारण त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर आँखा अस्पताल पठाइएको ट्राफिक प्रहरीको भनाइ छ । अनुसन्धानका लागि दुर्घटनाग्रस्त दुवै सवारी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।