इनरुवाः विभिन्न विकास आयोजना तथा सरकारी कार्यक्रमहरुमा व्यापक आर्थिक अनियमितता गरिएको खुलासाका बीच सुनसरीको इनरुवा नगरपालिका कार्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अख्तियारको प्रधान कार्यालय टङ्गाल, काठमाडौँ र १ नम्बर प्रदेश सम्पर्क कार्यालय इटहरीको संयुक्त टोलीले नगरपालिकाबाट सञ्चालित विकास आयोजनाको विवरण लिई महत्वपूर्ण कागजातसमेत नियन्त्रणमा लिएको हो ।

जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति बीचको मिलोमतोमा व्यापक आर्थिक अनियमिता भएको उजुरी परेपछि अख्तियारले नगरपालिकामा छापा मारेको हो । अख्तियारको टोलीले नगरका विभिन्न वडा कार्यालयमा समेत छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियार स्रोतका अनुसार इनरुवा नगरपालिकाको १ नम्बर वडामा रहेको शान्ति चौकदेखि टेम्पो स्टेण्डसम्मको दायाँबायाँ पक्की ढलनाला निर्माण कार्यबारे जानकारी लिनुका साथै प्राविधिक टोलीबाट उक्त कामको अनुगमनसमेत गराएको थियो ।

यसैगरी, सोही टोलीले इनरुवा १० स्थित जल्पापुरमा निर्माण भएको पक्की सडकको अनुगमन गरी प्राविधिक परीक्षणसमेत गराएको थियो ।

यसैगरी, इनरुवा २ नम्बर वडा, इनरुवा ६ मधेसा र इनरुवा ४ मा रहेका अन्य केही योजनाको पनि प्राविधिक परीक्षण गराएको छ ।

इनरुवा नगरपालिकामा २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिमध्ये इनरुवा ३ नम्बर वडाका पूर्ववडाअध्यक्ष कालुराम गुरुङबाहेक सवै वडाअध्यक्ष, मेयर तथा विषयगत शाखाका कर्मचारीहरुउपर सेवाग्राहीको उजुरी निवेदन दर्ता भएपछि अख्तियारले छानबिन थालेको हो ।