काकडभिट्टाः झापाको मेचीनगर नगरपालिका–६ स्थित इलाका प्रहरी कार्यालय काकडभिट्टाको नवनिर्मित कार्यालय भवनको उद्घाटन भएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको जिम्मेवारी लिएर बसेको प्रहरी सुरक्षित भएमा नागरिक सुरक्षित हुने हुँदा प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित हुनु पर्नेमा जोड दिए । ‘....त्यसमाथि सीमा क्षेत्रमा विशेष सुरक्षा अपनाइयो भने काठमाण्डौं पनि सुरक्षित हुन्छ, देशका अन्य भाग पनि सुरक्षित हुन्छन्, मन्त्री कार्कीले भने, सीमामा रहेको चौकीमा गरिने व्यवहारले ले देशको परिचय सुरु हुन्छ । त्यसकारण सीमा क्षेत्रमा अपराधीहरूको खुट्टा काँप्नुपर्छ र सर्वसाधरणको छाती फुक्नुपर्छ ।’

299309272_7865010350235737_927619320568452664_n

मन्त्री कार्कीले सङ्घीयता आएपछि प्रदेशका विभिन्न ठाउँमा प्रहरी चौकीहरू निर्माण गरेको र कतिपय ठाउँमा निर्माणको चरणमा रहेको बताए । ‘उनले भने, ‘पहिले केन्द्रीकृत मानसिकता रहेको थियो, प्रदेश संरचना आएपछि विकास छरिएको छ । अर्कोतर्फ अझैं केन्द्रको केन्द्रीकृत मानसिकता भए पनि नागरिकको सुरक्षाका लागि प्रदेश सरकारले काम गरिरहेको छ ।’

सो भवन प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजन भएको २ करोड ८३ लाख ३४ हजार ६ सय ४१ रुपैयाँ ६८ पैसाको लागतमा निर्माण भएको हो । सोही कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायबमहानिरीक्षक (डीआईजी) सुदीप गिरीले सुविधासम्पन्न भवन प्राप्त भएसँगै जोस र ऊर्जाका साथ सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधिको नियन्त्रण गरी नागरिकहरूको जिउधनको सुरक्षामा खटिन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।