इटहरीः झापामा दुई जना बालिकामाथि बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ का ७३ वर्षीय कपिलमणि पौडेल रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले पौडेललाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका पौडेलउपर १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया बालिकामाथि पटकपटक बलात्कार गरेको आरोप छ । पौडेलकै बलात्कारबाट १७ वर्षीया बालिका तीन महिने गर्भवतीसमेत भइसकेको प्रहरीको भनाइ छ ।

पौडेललाई इप्रका अनारमनीको हिरासतमा राखी जबर्जस्ती करणी अभियोगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । १८ वर्षमुनिका नाबालिगमाथि सहमतिमै गरेको करणीलाई पनि कानुनले बलात्कार मानेको छ । करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा उनले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’