इटहरीः सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेको तर्फबाट उम्मेदवारी  दिएकी भगवती चौधरीले अपराधलाई प्रशय दिने अभिव्यक्ति दिएको विषयमा निर्वाचन अधिकृतको कार्यालयले सुनसरीले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन क्षेत्र नं. ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले शुक्रवार चौधरीलाई टेलिफोन मार्फत मौखिक स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमा चौधरीले आफूले बोलेको अभिव्यक्ति अपराधलाई प्रशय दिने नभई चुनाव निश्पक्ष होस भनेर खबरदारी स्वरूप आफूले बोलेको बताइएकी छिन् । 

अघिल्लो निर्वाचनमा पनि निर्वाचन धाँधली भएको दाबी गदै आफूले फेरी त्यस्तो गतिविधि नहोस् भनेर कार्यकर्ता तथा मतदाताहरूलाई आग्रह गरेको चौधरीको भनाई छ ।

निर्वाचन अधिकृत पौडेलले चौधरीको विषयमा कुनै पनि लिखित उजुरी नआएको र सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोको आधारमा चौधरीलाई फोन मार्फत स्पष्टीकरण सोधिएको जानकारी दिए । 

‘वहाँलाई हामीले कार्यालयमै आउनु भनेका थियौ, तर चुनावी व्यस्तताको कारण फोन बाटै स्पष्टीकरण सोधेका हौ, हामीले सचेत पनि गराएका छौ’ पौडेलले भने ।

चौधरीले इटहरी १४ नं.वडाको कार्यक्रममा बिहीबार कार्यकर्तालाई उक्साउँदै छुरा हान्ने र गोली हान्न आफै फिल्डमा उत्रने धम्की दिएकी थिइन् । 

एमालेबाट उम्मेदवार बनेकी चौधरीसँग सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार प्रतिस्पर्धामा छन् । गच्छदारले यसअघि पनि धाँधली गरेर निर्वाचन जितेको चौधरीको आरोप छ । २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीलाई गच्छदारले पराजित गरेका थिए ।