मनोज भुजेल

इटहरीः आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । एकातिर देशभर निर्वाचनको प्रचारप्रसार र चुनावी सभा व्यापक रुपमा भइरहेका छन् भने अर्कोतर्फ नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत केही समूहले निर्वाचन विथोल्ने भन्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

सम्भावित चुनौतीलाई मध्यनजर गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षाको प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरीले आवश्यक सुरक्षा रणनीति बनाइरहेको छ । आफ्ना जनप्रतिनिधि छान्ने जनताको लोकतान्त्रिक अधिकारलाई कार्यान्वयन गराउन शान्ति–सुरक्षाको दृष्टिकोणबाट कुनै कसर बाँकी नराख्ने गरी प्रहरीले तयारी गरिरहेको छ ।

यसो भन्छन् प्रदेश न.ं १ का डीआईजी सुदीप गिरी

‘गत कार्तिक १९ गते प्रदेश सुरक्षा गोष्ठी पनि सम्पन्न भयो । जसमा प्रदेश १ का १४ जना नै प्रमुख जिल्ला अधिकारीहरु लगायतसँग छलफल गर्यौं । केन्द्रबाट पनि हामीलाई निर्देशन प्राप्त भएको छ । मजबुत निर्वाचन सुरक्षा सम्बन्धी तयारी गरेर कार्यान्वयन गर्ने भन्ने निष्कर्ष निकालिएको छ ।

भौगोलिक हिसाबले १ नं प्रदेशमा हिमाली, पहाडी र तराईका जिल्लाहरु समेत रहेका छन् । यस्तो हुँदा सुरक्षा चुनौतीहरु पनि थपिने गर्दछ । हिमाली जिल्लामा भौगोलिक अवस्था र विकटताका कारणले मतपेटिका ढुवानीमा चुनौतीहरु थपिने हुन्छन् । त्यसैगरी तराइका जिल्लाहरु सीमावर्ती हुँदा विभिन्न गतिविधि हुने चुनौती रहन्छ । त्यसैगरी जनघनत्व पनि बढी भएकाले सुरक्षा सतर्कता बढी अपनाउनुपर्ने देखिन्छ ।

मतदान स्थलको सुरक्षा र मतदाताको सुरक्षा गर्नु पनि प्रहरीकै दायित्व भएकाले चुनौतीहरु धेरै छन् । यसलाई हल गर्न सुरक्षा फोर्सको सही परिचालन गर्नु अपरिहार्य हुन आउँछ । त्यसैकारण प्रहरीको संख्या पनि थपिएको छ । म्यादी प्रहरीको व्यवस्था पनि भएको छ । केन्द्र हेडक्वाटरबाट पनि सुरक्षा प्रबन्धका लागि चाहिने विभिन्न सामग्रीहरु आईरहेका छन् । निर्वाचनका लागि हामीले राम्रो तयारी गरिसकेका छौं । निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित रुपमा सफल पार्न हामी सक्षम छौं । हाम्रो मनोबल उच्च छ ।

sudip-giri-pro-1-768x837

चुनाव बहिष्कार गर्ने भन्ने केही समूहहरु पनि छन् । उनीहरु जसरी प्रस्तुत हुन्छन् त्यही रुपमा हाम्रो सुरक्षा रणनीति लागू हुन्छ । पहिलेका निर्वाचनहरुमा विष्फोट लगायतका काममा सक्रिय समूह अहिले बाहिर आएको अवस्था भने छैन ।  यसरी १ नम्बर प्रदेशको अबस्था सामान्य छ । सुरक्षाका दृष्टिले यतिबेला चुनाव गराउन प्रहरी सक्षम छ ।

विभिन्न जिल्लाको सुरक्षा अवस्थाकाबारेमा जानकारी लिने र अनुगमनको काम पनि सक्रियताका साथ अघि बढिरहेको छ । प्रमुख जिल्ला अधिकारीहरुबाट चुनौतीहरुका बारेमा जानकारी प्राप्त भएको छ । निर्वाचन अधिकृत, मतदान स्थलका अधिकृतहरुसँग पनि सल्लाह भएको छ । कुनै भइपरि आएको सन्दर्भमा ईटहरी पृतना कार्यालयमा हाम्रो कमाण्ड पोष्ट रहनेछ । हामी त्यहाँबाट आदेश दिनेदेखि सबै सुरक्षा प्रबन्धको निगरानी गरिरहन्छौं । एउटा हेलिकप्टर तयारी अवस्थामा राखेका छौं ।

हामीले योभन्दा पनि विषम परिस्थितिमा निर्वाचन सम्पन्न गरिसकेका कारण पनि प्रहरीको मनोबल उच्च छ । फेरि निर्वाचन सम्पन्न गराउने कुरा खाली सुरक्षाकर्मीले मात्र गर्ने नभएर कर्मचारीदेखि लिएर राजनीतिक दलहरु, निर्वाचन अधिकृत, जनता सबैको उत्साह र मनोबलले हुने कुरा हो । त्यस कारण पनि हामी सुरक्षा प्रबन्धका लागि उत्साहपूर्वक लागिपरेका छौं । समग्रमा निर्वाचन सम्पन्न गराउन हाम्रो तयारी पुरा भएको अवस्था छ ।’