इटहरीः भारतबाट मैदा तस्करी गरी सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगमा बुझाउने गरेको सुराक पाएपछि रानी भन्सार कार्यालयले पक्राउ गरेका तस्करीका नाइके सहित पाँच जना मोटो धरौटीमा रिहा भएका छन् ।
विराटनगरका उद्योगी सुरेश राठीले सञ्चालन गरेको वावा उद्योगमा भारतबाट मैदा ल्याउँदै गरेको अवस्थामा भन्सारले पक्राउ गरेका पाँच जना प्रतिवादीलाई २१ लाख ८६ हजार ५ सय रुपैयाँ धरौटीमा छोड्न बुधवार साँझ आदेश भएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटाको इजालशले पक्राउ परेका पाँचै जनालाई धरौटीमा छाड्ने आदेश गरेको हो । भन्सारका चोरी पैठारीमा १ करोड रुपैँयासम्म विगोका मुद्धा भन्सार कार्यलय आफैँले हेर्ने गरेको छ ।
भन्सारले गरेको आदेश बराबरको धरौटी रकम बुझाएर पक्राउ परेका प्रतिवादीहरू रिहा भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंङगनाले जानकारी दिएका छन् । भन्सारले पक्राउ परेका पाँच जनाको हकमा कसुरको मात्र हेरेर धरौटी खुलाएको छ ।
जसमा भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवानलाइ २ लाख ४४ हजार, सुनसरीको हरिनगरा गाउँपालिका वडा नं। ७ का वर्ष ३७ का जमसेद आलम ६ लाख ४४ हजार २ सय ५० रुपैयाँ, सोही ठाउँका २२ वर्षीय नाजिर खान ४ लाख ३१ हजार ४ सय, १८ वर्षीय असरफ अलि ४ लाख ७० हजार, २३ वर्षीय फिरोज मियाँले ३ लाख ९६ हजार ५ सय रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएका भन्सार कार्यालयले जनाएको छ ।
पक्राउ परेका मध्ये तस्करीको मुख्य गिरोह जमसेर आलम र भारतीय नागरिक रिजवान हुन् । उनीहरूले भारतदेखि तस्करी गरी ल्याएको मैदा विराटनगरका उद्योगी सुरेश राठीले सञ्चालन गरेको बाबा उद्योगमा ल्याउने क्रममा विराटनगर भन्सार कार्यालयले बरामद गरेको थियो ।
भन्सार कार्यालयको गस्ती टोलीले दुई वटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५ सय ५ बोरा मैदासहित पाँच जनालाई मङ्गलवार राती पक्राउ गरेको थियो ।
पक्राउ परेका रिजवानले नेपाल भारत सीमा क्षेत्रमा २४ सै घण्टा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ्ग मिलाएर तस्करीको मैदा उद्योगसम्म स्किटिङ्ग गरेर पु¥याउने गरेको खुलेको छ । तस्करीको मैदा गन्तव्यसम्म पु¥याउन उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कारसहित मैदा बोकेको चार वटा गाडी भन्सारले नियन्त्रणलाई लिएको छ । भन्सारले फैसला नभएसम्म सवारी साधन पनि नियन्त्रणमा लिनेछ ।