इटहरीः  मंसिर ४ गते सम्पन्न  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ ।

बुधबार राति १० बजेसम्म प्रतिनिधिसभातर्फ ४२ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ भने प्रदेशसभा तर्फ ९४ ठाउँको मतपरिणाम आइसकेको छ । जसमा नेकपा(एकीकृत समाजवादी)ले प्रतिनिधिसभातर्फ र प्रदेशभातर्फ २र२ ठाउँमा जित निकालेको छ ।

एकीकृत समाजवादीका उम्मेदवार कृष्णकुमार श्रेष्ठ बारा– ४ बाटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार एकवाल मियाँलाई १० हजार ६६ मतान्तरले पराजित गरेका छन् । श्रेष्ठले २९ हजार ५०५ मत पाएका छन् भने मियाँले १९ हजार ४३९ मत पाएका छन् ।

त्यसैगरी अछाम–१ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवरले एमालेका झपटबहादुर बोहरालाई ४ हजार ४८९ मतान्तरले पराजित गरेका छन् । कुँवरले १९ हजार ५३४ मत ल्याउँदा बोहराले १५ हजार ४५ मत ल्याएका छन् ।

यता, प्रदेशसभामा पनि यो समाचार तयार पार्दासम्म एकीकृत समाजवादीले दुई ठाउँमा जितेको छ । सर्लाही–१ को (ख)मा वेची लुङेली र काठमाडौं–७ को (क)मा वसन्तप्रसाद मानन्धर विजयी भएका छन् ।

अहिले एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ ७ ठाउँमा अग्रता लिइरकेका छन् भने प्रदेशसभामा १२ ठाउँमा अग्रता लिइरहेको छ ।