विराटनगरः संखुवासभा जिल्लाको उत्तरी चीन सिमा जोडिएको शिङ्सा क्षेत्र भोटखोला २ मा बग्ने छुजुङ खोला जलविद्युत आयोजना रोक्न माग गरिएको छ ।
सोमबार च्याम्ताङ काठमाडौ कल्याण समाजले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ । सांग्रीला उर्जा कम्पनिले थुदाम हुँदै बग्ने छुजुङ खोलामा जलविद्युत निकाल्न जलविद्युत विभागमा अनुमति माग गरेका थिए । छुजुङ खोला आसपासमा दुर्लभ बन्यजन्तु तथा दुर्लभ बनस्पति समेत पाउने भएकोले त्यस क्षेत्रमा बिद्युत आयोजना रोक्न माग गरेको हो ।
समाजका सदस्य छिरिङ रिदर भोटेको नेतृत्वमा धरान उपमहानगरपालिका वडा नम्बर ३ का सदस्य मिक्मा भोटे छजुङ भोटेले मुख्यमन्त्रीको कार्यकक्षमा भेट गरि आयोजनाबारे जानकारी सहित रोक्न माग गरेका हुन । ध्यानाकर्षण पत्रमा आयोजना रोक्नुपर्ने नौ बुँदे कारण समेत उल्लेख गरिको छ । त्यसैगरी आयोजनाको बिषयलाई लिएर राष्ट्रिय मानब अधिकार आयोगको कार्यालय विराटनगरमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।
सांग्रीला उर्जा कम्पनिले छुजुङ खोलामा बिद्युत उत्पादन गर्ने बारे गत साल संखुवासभा जिल्ला भोटखोला २ को च्याम्ताङ गाउँमा सार्वजनिक सुनुवाइ गरेका थिए । उक्त समयमा त्यहाँका स्थानीयबासी आयोजनाबारे हुनुपर्छ र हुनुहुदैन भन्ने विषयमा विवाद भएका थिए । तत्कालीन समयमा जनप्रतिनिधि समेत अनुपस्थित थिए ।
सार्वजनिक सुनुवाइमा भेला भएका स्थानीयले उपस्थितिमा समेत हस्ताक्षर गर्न मानेका थिएनन । त्यसको केहि महिनापछि भने वातावरणीय प्रभाव मुल्यांकन भेलामा स्थानियलाई खाममा पैसा हालेर केहि ब्यक्तिको हस्ताक्षर लगेको आरोप सांग्रीला उर्जा कम्पनीलाई लगाएको छ । समाजले सोमबार मुख्यमन्त्रीलाई समेत यहि कुरा बताए ।
सांग्रीला उर्जा कम्पनीले आयोजनाको निवेदन दिएको भन्दै गत मंसिर २ गते गोरखापत्र राष्ट्रिय दैनिकमा वातावरणीय प्रभाव मुल्यांकन सहितको ३५ दिने सार्वजनिक सूचना गरेका थिए । त्यहि सूचनाको आधार मान्दै समाजले प्रदेश सरकार तथा राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र बुझाएको बताए ।
सांग्रीला उर्जा कम्पनिले निकाल्ने भनिएको छुजुङ खोला जलविद्युत आयोजनाको क्षमता ६३ मेघावाट रहेको जनाएको छ ।