इटहरीः कुनै बेला चुलिएको करार कर्मचारी नियुक्तीको बिषय सेलाउँदै गएको अवस्थामा सोमबार एकाएक एक सर्वसाधारणले सार्वजनिक सुनुवाईकै क्रममा रामधुनी नगरपालिकाका मेयरलाई प्रश्न गरे मेयर साप देवेन्द्र चौधरी र रन्जिला चौधरी को हुन ?
करार कर्मचारीको करारनामा बार्षिक रुपमा नगरसभाले थप गर्ने गरेको भएपनि नगरपालिकाले आफुलाई आवश्यक पर्ने कर्मचारी लोकसेवा आयोगसँग माग नगरी आसेपासे भर्ती गर्ने र जागिर खुवाउने गरेको चरितार्थ सुनाउँदै रामधुनी ६ का पुष्प प्याकुरेलले सो प्रश्न मेयरलाई राखेका थिए ।
रामधुनी नगरपालिकाको कार्यलयमा कार्यरत देवेन्द्र चौधरी मेयर शंकरलाल चौधरीको छोरा र नगरकार्यपालिका अन्तर्गतकै एक कार्यलयमा कार्यरत रन्जिला चौधरी उनको छोरी भएको नगरपालिका स्रोतले बताएको छ । यद्यपि प्याकुरेलको प्रश्नको जवाफ सम्बन्धित पक्षबाट आएन । नगरपालिकाले करारका कर्मचारी राखेर लामो समयदेखि लोकसेवाबाट कर्मचारी माग नगर्दा दैनिक प्रकाशनिक कार्य गर्न योग्य कर्मचारी नभएको समेत सार्वजनिक सुनुवाईमा गुनासो गरिएको थियो ।
नगरबासीले एउटा पन्जिकरणलाई अंग्रेजीमा भाषानुवाद गर्न समेत नसक्ने जनशक्ति रामधुनी नगरपालिकामा भएको भन्दै गुनासो गरेका थिए । रामधुनी नगरपालिकामा ३४ जना स्थायी ७२ जना करार र २३ जना ज्यालादारी गरी १२९ जना कर्मचारी कार्यरत रहेको नगरकार्यपालिकाको कार्यलयले बताएको छ ।
चालु आर्थिक बर्षको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित नगरबासीले सार्वजनिक सुनुवाईमा जनताको उपस्थिती कम र नगरपालिकाका कर्मचारीको बाहुल्यता बढी भएको टिप्पणी गरेका थिए ।
वडा नम्बर ५ का स्थानीय लेखनाथ खतिवडाले वडामा निर्वाचित भएका वडा अध्यक्षहरुले पञ्जिकरणको मात्रै विवरण सुनाएको भन्दै रामधुनीको लागि जन्मदर्ता र विवाहदर्तामा हस्ताक्षर गर्न जनप्रतिनिधि आवश्यक नपर्ने भन्दै जनताले देख्ने गरी का मगर्न जनप्रतिनिधिलाई आग्रह गरे ।
उनले नगरपालिकाले आफुलाई चिनाउने हिसावले खेलका गतिविधिमा खर्च नगरेको बताउँदै रामधुनीले एउटा मेयर कप खेल प्रतियोगिता समेत आयोजना गर्न नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा प्रश्न गर्दै रामधुनी ५ का स्थानीय तथा शिक्षासेवी चुडामणि घिमिरेले रामधुनी नगरमा एउटा राम्रो अस्पतालको आवश्यकता भएको भन्दै पुरानो नगरपालिकाको भवनलाई नगर अस्पतालको रुपमा विकास गर्न सुझाव दिएका थिए भने शिक्षा क्षेत्रको विकास गर्न आग्रह गरेका थिए ।
रामधुनी नगरका धेरै विद्यार्थीहरु कक्षा ११ देखि माथिको अध्ययनका लागि इटहरी चाहार्नुपर्ने बाध्यतालाई हटाउन यहीँ राम्रो उच्च शिक्षा दिने शिक्षालयको स्थापनामा जोड दिन नगरकार्यपालिकालाई उनको सुझाव थियो । यस्तै अभियान्ता गुणराज काफ्लेले सहकारी क्षेत्रमा देखिएको समस्यालाई हेर्न र नगरमा रहेका सहकारीको अनुगमन गर्नुका साथै उनिहरुलाई तालिम दिएर समयानुकुल शिक्षित बनाउँदै लैजानुपर्ने बताए ।
कार्यक्रममा नगरबासी माधव ढकाल, कृष्णराज निरौला, इश्वर आचार्य , गणेश पौडेल लगायतले आफ्नो जिज्ञासा राखेका थिए ।
रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा उपमेयर तारा थापा, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, इलाका प्रहरी कार्यलय पकलीका प्रमुख गजेन्द्र राय, विभिन्न पार्टीका प्रतिनिधिहरु साथै वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
शुभयुग मिडिया प्रालिले सहजिकरण गरेको कार्यक्रममा शुभयुगको तर्फबाट रिता ढकालले नागरिक बहिर्गमन रिपोर्ट तथा जनमत प्रस्तुत गरेकी थिइन । कार्यक्रम नरेश कोइरालाले सञ्चालन गरेका थिए ।