इनरुवाः सुनसरीका किसान आफूले उत्पादन गरेको अन्न, तरकारीलगायत बिक्रीमा प्रहरी प्रशासन र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका छन्। जिल्ला सदरमुकाम इनरुवाको रामजानकी थोक बजारबाट बिक्री गरेको र बाहिर जिल्लामा लैजाने क्रममा प्रहरी र भन्सारले दुःख दिएको भन्दै आन्दोलनमा उत्रेका हुन्।
एउटा जिल्लाबाट अर्को जिल्लामा लैजाँदा अनलाइन बिलको खोजी गर्ने प्रहरी र भन्सारले तरकारी जफत गरी दुःख दिएको भन्दै आन्दोलनमा उत्रेको बताइएको छ।
स्थानीय थोक व्यापारी श्रवण यादवले आफूहरूले इनरुवामा खरिद गरेको तरकारी जिल्ला बाहिर लैजाँदा प्रहरीले अनावश्यक दुःख दिएको बताए । यादवले थोक बजारले नै अनलाइन बिल नदिएकाले आफूहरूले उक्त बिल दिन नसक्दा पैसा तिरेर किसानको तरकारी किन्दासमेत तरकारी जफत गर्ने गरी दुःख दिएकोले किसान र व्यापारी आन्दोलनमा उत्रेको बताएका छन् ।
किसान रहमान मियाँले किसानलाई सहज रूपमा तरकारी बिक्रीको वतावरण मिलाउन दवाव दिन आन्दोलनमा उत्रेको बताए ।
प्रदेश १ मा निर्वाचित प्रदेश सभा सदस्य हाजि इसराइल मन्सुरीले किसानलाई कुनै पनि असहज हुन नदिने बताए । मन्सुरीले तरकारी उत्पादक किसानले कुनै अनलाइन बिल दिनु नपर्ने तर अर्को जिल्लामा तरकारी लैजान केही कागजी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सम्बन्धित निकायलाई सहजीकरणका लागि आग्रह गरेको बताए ।
उनले आफ्नो पहलमा तीन दिनभित्रमा किसानका समस्या समाधान हुने गरी प्रयास थालेको बताए । मन्सुरीले आफ्नै बारीमा मलखाद र सिँचाइको अभावमा जेनतेन उत्पादन गरेका उत्पादन बिक्री तथा ओसारपसारमा कुनै पनि अवरोध मान्य नहुने बताएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।