इनरुवाः नेकपा एमालेले प्रदेश नम्बर १ को प्रदेश सभा सांसद पदका लागि सिफारिस गरेको समानुपातिक सूचीमा परेकी सुनसरी एमालेकी महिला नेतृ लहरुमाया जिमी (याख्खा)अन्तिम समयमा आएर सूचीबाट हटेकी छिन ।
नेकपा एमाले केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले निर्वाचन आयोगलाई विवरण सच्चाई पठाउँदा जिमीको नाम हटाएर पठाएको हो । उनको स्थानमा सुनसरीकै अर्की महिला नेतृ यसोदा कायस्थको नाम कायम राख्न निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
एमालेले पठाएको पत्रमा भनिएको छ, ‘त्यस आयोगबाट २०७९ मंसिर २६ गते च।नं। ८०÷१५४ को पत्रअनुसार संविधान र कानूनअनुरुप नाम सच्याई पठाउन पत्राचार भएअनुसार प्रदेश नम्बर १ को अल्पसख्यकतर्फ लहरुमाया जिमी (याख्खा)नामको सट्टा सोभन्दा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसंख्यकको प्राथमिकताक्रम क्र।स। ८ को यसोधा कायस्थको नाम कायम गरिदिन हुन अनुरोध छ ।’ सो ब्यहोराको निर्वाचन आयोगमा पठाएको पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन ।
लहरुमाया जिमीलाई नेकपा एमाले सुनसरी जिल्ला कमिटी र जिल्ला निर्वाचन परिचालन समन्वय कमिटी सुनसरीले गत मंसिर २५ आइतवार इनरुवा स्थित एक पार्टी प्यालेसमा भब्य कार्यक्रमको आयोजना गरी जिमीलाई प्रदेश सांसद बन्न सफल भएको भन्दै बधाई र सम्मान गरेको थियो ।
जिमीलाई पार्टीका तर्फबाट बधाई र सम्मानसँगै प्रदेश सांसद बन्न सफल भएको भन्दै लिखित सम्मानपत्र समेत दिएको थियो । त्यस्तै धरान घर भएकी जिमीलाई धरानमा समेत स्थानीय पार्टी कमिटी र नागरिक समाजहरुले पटक–पटक सम्मान गरेका थिए ।
जिमीलाई नेकपा एमाले केन्द्रीय कमिटीले निर्वाचन आयोगमा अन्तिम सनाखतको लागि नागरिकतासहितका आवश्यक कागजात लिएर काठमाडौ बोलाएको थियो ।
उनी सोमबार निर्वाचन आयोगको कार्यालय पुगेर सनाखतमा सहभागिसमेत भएकी थिईन । उनीसँगै सुनसरीबाट प्रदेश सांसद भएकी निरा आचार्य खनाल, मिना श्रेष्ठ समेत काठमाडौ पुगेका थिए ।