धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माफी नमाग्ने बताएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै साम्पाङले आफूले कार्यपालिकामा नीतिअनुरुप नै काम गरेको दावी गर्दै माफी नमाग्ने बताएका हुन् । 

धरान नगरको असोज १३ गते बसेको कार्यपालिका बैठकमा मेयर साम्पाङले सप्तरङ्गी पार्कलाई बहुसाँस्कृतिक पार्क बनाउने प्रस्ताव पेश गरेका थिए । 

उक्त प्रस्तावमा कार्यपालिका बैठकमा सदस्य अनुप देवानले फरक धारणा राख्दै गर्दा मेयर साम्पाङले बैठक बाहिर जानू भन्ने निर्देशनले बिथोलिएको बैठक हालसम्म बस्न सकेको छैन । 

 मंसिर २९ गतेको कार्यपालिका बैठक पनि बस्न सकेन । वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर साम्पाङले आत्मआलोचना नगरी बैठक नबस्ने अडान लिएपछि बैठक बस्न नसकेको हो । 

वडाध्यक्ष बिहीबार पत्रकार सम्मेलन गरी कार्यपालिका बैठक नबस्नुको कारण सार्वजनिक गरेको थिए । लगतै शुक्रबार मेयर साम्पाङले पत्रकार सम्मेलन गर्दै आफूले कार्यपालिका क्षेत्राधिकारमा टिकेर नै गरेको दावी गर्दै माफि नमाग्ने बताएका छन् । 

उनले कार्यकक्षमा आफूले भनेको नमान्ने कार्यपालिका सदस्यलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न समेत माग गरेका छन् ।  उनले आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आफूलाई विकास गर्न अफ्ठयारो पार्ने कार्यपालिका सदस्यहरु नचाहिने बताएका हुन् ।